शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन: नेता महतो

दैनिक नेपाल २०७७ माघ ९ गते २१:५०

काठमाडौँ, ९ माघ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताएका छन् ।

सप्तरीको राजविराजमा आज प्रेस मञ्च र प्रेस नेपाल सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने बताउँदै निर्वाचनबाट भाग्न नचाहेको प्रस्ट पारे ।

उनले वैकल्पिक शक्तिका रूपमा जनता समाजवादी पार्टीको उदय भएको भन्दै यही पार्टीले हिमाल, पहाड र मधेशको हित गर्ने कुरा आमजनताले अनुभूति गरिरहेकाले जनलहर बढेको दाबी गरे ।

प्रतिनिधिसभा पुनःस्थापना नै वर्तमान राजनीतिक समस्याको निकास रहेको बताउँदै अदालतबाट यो समस्याको निकास पाउने र संविधान एवं लोकतन्त्रको पक्षमा निर्णय आउनेमा आफूहरु आशावादी रहेको नेता महतोले विश्वास व्यक्त गरे ।

सम्मानित अदालतको फैसला आफूहरुलाई मान्य हुने उनको भनाइ थियो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई विफल पार्ने प्रयास भइरहेकाले आफूहरुले त्यसका विरुद्ध आवाज उठाएको महतोले बताए ।

उनले भने, लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन तर चुनाव समस्याको समाधान होइन, देशमा फेरी अर्को सङ्कट निम्तिने खतरा छ । –रासस

प्रतिक्रिया
सम्बन्धित