शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कोरोनाविरुद्धको खोप माघ १४ बाट लगाउन सुरु गरिने

दैनिक नेपाल २०७७ माघ ९ गते १८:५८

काठमाडौँ, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाइने बताएका छन् ।

सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुवात भइसकेको बताए । हाल मुलुक नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको उनको भनाइ थियो ।

ओलीले पहिलो चरणमा अग्रभावमा रहेर कोरोनाविरुद्ध खटिएकालाई खोप लगाइने जानकारी दिए ।

त्यस्तै, सबैलाई पुग्ने पर्याप्त खोप आइनसकेकोले अझै केही महिना सावधानी अपनाउन सम्पूर्णमा ओलीले आग्रह गरे ।

त्यस्तै, कार्यक्रममा मुलुकमा शान्ति, सुरक्षा स्थापनाका लागि सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै त्यसका लागि तयार रहन पनि आग्रह गरे ।

त्यस्तै, कार्यक्रममा गृहमन्त्री राम बहादुर थापाले वर्तमान राजनीतिक परिवर्तनको अवस्थामा शान्ति, सुरक्षाका लागि अनवरत लाग्न निर्देशन दिएका छन् ।

उनले सशस्त्र प्रहरीको १७ जिल्लाका अस्थायी गुल्मलाई स्थायी बनाउने र सीमा निगरानी चौकीलाई ५०० पुर्याउने लक्ष्य गृहमन्त्रालयको रहेको जानकारी दिए । पर्वतीय उद्धार तालिम शिक्षालय बनाउने तयारी भइरहेकोसमेत गृहमन्त्री थापाले जानकारी दिए ।

उनले आवश्यकताअनुसार सशस्त्र प्रहरीमा जनशक्ति थप्दै लगिने पनि बताए । त्यस्तै, सशत्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सङ्गठनको यस वर्ष सीमा निगरानी चौकीको सङ्ख्या बढाएर २२० पुर्याउने लक्ष्य राखिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित