शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सर्वोच्चले सरकारको कदम सदर गरे द्वन्द्व हुन्छ: प्रचण्ड

दैनिक नेपाल २०७७ माघ ९ गते १७:३६

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालले सरकारको निर्णय सदर गरे देशमा द्वन्द्व सुरू हुने चेतावनी दिएका छन ।

काठमाडौँमा उनी पक्षको आयोजना गरेको विरोधसभामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले सर्वोच्चद्वारा प्रधानमन्त्री ओलीको कदमलाई सदर गरे शान्ति प्रक्रिया भंग हुने चेतावनी दिए ।

उनले भने ‘यो देशमा फरि युद्ध होस्, हिंसा होस्, अराजकता होस् भन्ने कसैले पनि चाहेको छैन । सम्मानित सर्वोच्च अदालतका सम्मानित न्यायाधीश कोही पनि फेरि द्वन्द्व चाहनुहुन्छ भन्ने कल्पना पनि गर्न सक्दिनँ ।’

त्यस्तै, प्रधानमन्त्री ओलीले व्यंग्य गर्दै खोई कहाँ छन् कालीबहादुर खामहरू ? संरक्षण गरेका छन् ? भनेर प्रचण्डमाथि टिप्पणी गरेका थिए । त्यसको जवाफ दिँदै शुक्रबार राजधानीमा भएको आम सभामा प्रचण्डले भने, ‘उसको मुद्दा मिलाउनका निम्ति मैले काम गरिरहेको छु ।’

प्रचण्ड थप टिप्पणी गर्दै भने, ‘जसलाई मैले १० बर्षसम्म स्कुलिङ गराएर युद्धमा कमान्डर बनाएँ अब तिनको रक्षा ओलीले गर्ने अरे । सुन्दै अचम्म लाग्छ । आमाको दूध चुसाएर भएन बाउको घुँडो ?’

त्यस्तै, प्रचण्डले ओलीलाई ३ वर्षमा तह लगाउन नसकिएको बताउँदै शान्ति प्रक्रिया पनि विघटन गर्न लागेको आरोप लगाए । उनले भने, ‘ओलीलाई सच्याउन, तह लगाउन सकिएन। जनसमुदायलाई साक्षी राखेर भन्छौं केपी प्रवृत्तिलाई सहयोग गर्ने भूल गर्ने छैनौं। शान्ति प्रक्रिया पनि विघटन गर्न खोजेका छन् ।’

त्यस्तै, सम्बोधनका क्रममा प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगमाथि घुमाउरो पाराले चेतावनीपूर्ण भाषा गरेका छन् । उनले भने, ‘षडयन्त्रकारी सेटिङ भत्काएर जनताको सेटिङ सुरु हुन्छ । अदालतले काठमाडौँका सडकमा जनताको उपस्थिति देखेको छ, निर्वाचन आयोगले पनि देखेकै होला । यदि त्यस्तो भयो भने हिंसात्मक त नभनौं तर शान्तिपूर्ण आन्दोलनको आँधीबेहरी आउँछ ।’

प्रचण्डले ओली पक्षले भनेको साइबर सेनालाई ‘साइबर स्यालहरू’को संज्ञा दिए । ओलीले आफूलाई सिध्याउन लागेको आरोप लगाउँदै भने, ‘केही पूर्वमाओवादीहरुले खरानी घसेको देखेर म त छक्क परेको छु । ति भगौडा अहिले ओलीतिर छन् । ओली अहिले एक नम्बरमा प्रचण्डलाई सिध्याउने खेलमा छन् ।’

प्रतिक्रिया
सम्बन्धित