शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

रोक्न नसकेको पल

-वि वि श्रेष्ठ २०७७ माघ १ गते २१:२१


-वि वि श्रेष्ठ

परिधिको सीमा होला कि नहोला, त्यसको वहस जति जरुरी छ, पलको वहस त्यति नै जरुरी । चाहेर पनि रोक्न नसकिने पल भित्रको अन्तरकथाले घोच्ने व्यथाको महत्व धेरै नै रहेछ । समय फरक प्राप्ति समान, तर त्यसको गाम्भिर्यता कति ?

परिणाम र परिमाण भित्रको मात्राले पल को महत्वलाई कति न्याय देला ? हिजोको पलमा प्राप्तित्व र आजको पलमा प्राप्त गरेको वस्तुको महत्व समान होला कि नहोला ?

प्राप्त गरेको वस्तुको उपयोगले त्यस प्राप्त गरेको पलको महत्वको उजागर होला कि नहोला ? गति र कम्पनको यो निरन्तरतामा आशातित वस्तुको उपलव्धतामा जीवितताको चेतनाले खेल्ने भुमिका निश्चिय पनि सोचनिय नै होला ।

अग्रगति र समगतिको मापन गर्ने यन्त्र नै चेतनाको उच्चतम रुप हो । गतिशिलताको यात्रामा कोही र कुनै पनि वस्तुमा समानता खोज्नु भनेको मुर्खता शिवाय अन्य होईन, निरन्तरतमा वाच्ने नियतीमा फसेको कालखण्ड त्यसभन्दा पृथक हुन सक्दैन ।

ईच्छा र आंकाक्षाको विशाल समुन्द्रको वीचवाट तैरन खोज्नु भनेको सोचमा आएको उच्छुखलता मात्र हो । जव ईच्छा र चाहनाको सोचमा कमि हुन थाल्दछ, यान्त्रिक, वातावरणीय र सोचमा देखिएको स्वखलन हो ।

जुन अपरिहार्य वनेर देखिन्छ । सधै देखिएको निर्जिव वस्तुमा समेत परिवर्तनका अपव्यय लुकेको हुन्छ, भलै त्यसको हामीले कुनै पनि महशुश गर्न सक्दैनौ, यद्यापी समयको यो पल सँगै त्यसले दिने उपादेयता, त्यसको वनावटमा भिन्नता पाउन सकिन्छ । त्यो नै रोक्न नसकेको पल हो ।

जसमा हामी सवै आवद्ध छौ । वस्तुको प्रभावलाई एकतर्फी प्रभाव र असरमात्र हुन्छ भन्ने सोच्नेहरुका लागी निर्जिव वस्तुको उपादेयता समान लाग्न सक्दछ, तर यसको यहि दृष्टिकोणलाई मात्र मान्न सकिदैन ।

फरक यहि पाउन सकिन्छ । वस्तुको दुवै पक्षको यो विशेषता नै अटल र अविचलित रहेको छ । जसको भुमिका एकअर्का विना अपुरो र अधुरो रहेको हुन्छ ।

नदिका छालको वरिपरि रहेर नदिलाई वाटो देखाउने पहाड र भागहरुलाई लाग्दो होला, यो सधै हामी निहित रहेको छ । यसको आवश्यकता भनेको हामी हो तर नदिको त्यो छालमा वग्ने कणहरु कहिल्यै एकाकार हुदैन, फरक फरक कणले त्यो भुमिको उपयोग गरिरहेको हुन्छ, फरक समयमा, फरक गतिमा र हरेक फरकपनमा । सोच्ने शैलीको विकास नहुदाँ देखिने एकनाश भनेको दृष्टिदोष मात्र रहेछ, जुन दृष्टिदोषमा समाज र विश्व नै चलायमान रहेको छ ।

उपयोगको यो नितिमा सजिवले निर्जिवतामा शासन गरेको लागेता पनि त्यो भुल मात्र हो, उपयोग गर्ने र गरिनेको निति हरेकतामा समान रहेको हुन्छ ।

भौतिक उपलव्धतालाई नै जीवन सोच्नेहरुका लागी यो मिथ्या हुन सक्ला तर यथार्थमा त्यो छुप्न सक्दैन, त्यहि लुक्न र छुप्न नसकेको पल नै रोक्न नसकेको पल हो ।

नयनले देखिने वस्तुमा समानता भनेको त्यसको साधन हो, साध्य होईन, साध्य प्राप्त गर्नका लागी नयनको दृष्टि सँगसँगै चेतनामा निहित क्षमताको पनि आवश्यकता पर्दछ । चेतना विहिनताको दृष्टि भनेको सतही हो, जुन आमरुपमा समान लाग्दछ ।

चेतना निहित क्षमता सहितको दृष्टि भनेको साध्य हो, जसले वस्तुमा असमानता र गतिशिलता देख्दछ । देख्दा समान्य देखिएता पनि यसको सारमा आकाश जमिनको भिन्नता पाउन सकिन्छ । जसको परिभाषा व्यक्तिको स्तरसँगै अलग अलग पाउन सकिन्छ ।

वाँच्नका लागी वाँच्नेहरुका लागी यो सवै मिथ्या हुन् । पृथकता खोज्नेहरु यो धर्तिमा आत्मिक सन्तुष्ठि प्राप्त गर्न सक्दैनन । त्यहि सन्तुष्टि प्राप्त गर्न नसक्नेहरुको सोचमा देखिएको विविधता नै धार्मिकतामा लिन हुन्छ, त्यो शान्ति होस वा युद्ध ।

धर्ममा नाममा एकाकार हुन सकिन्छ भन्नेहरुको भीड अराजक भएता पनि यो केहि शितल पनि रहेको हुन्छ । एकाग्रता भित्रको जीवनले अर्थ खोज्नका लागी सहयोग गरेता पनि यसले ठोस परिणाम भने दिन सक्दैन ।

यसैको पर्यायले जीवन आहुतिदिनेहरुको कुनै कमि छैन, तर जव सोच एकाकार वन्दछ, लाग्दछ निकासको सम्भावना छैन, सोच शिथिल वन्दछ, चारैतिर निरर्थक देखिन्छ, सम्भावनाको ढोका वन्द भएझै लाग्दछ र भगवानको शरणमा लिन हुन कोशिश गर्दछ, यसलाई नै दैवको लीला भनिन्छ ।

यथार्थताको कसिमा उभिने खोज्नेहरुको भीड धेरै हुदैन । किनकि यो सहज छैन । सहजतामा जीउन खोज्नेहरु साध्य र साधनको वीचको दुरी मापन गर्ने ल्याकत राख्दैन । सहजतामा रम्नेहरु यथार्थको कसिमा उभिने हिम्मत राख्दैनन । यहि वीचको कर्म नै नरोकिएको पल हो । जुन पलमा हामी घिस्रिरहेका छौ ।

प्रतिक्रिया
सम्बन्धित