बिहीबार, १५ माघ २०७७
DainikNepal.com
बिहीबार, १५ माघ २०७७

नेकपा विखण्डन : मर्यादाको लक्ष्मणरेखा किन नाघिदैछ ?

डा. भीम रावलले आम महिलाको मानमर्दन किन गरे होलान् ?

निर्मल भट्टराई २०७७ पुष १४ गते १६:३३

एकता नटुङ्गिदै अप्रत्याशित रूपमा नेकपा विभाजनको प्रक्रियामा गएपछि दुई समूहबीच आरोप–प्रत्यारोपको कहालीलाग्दो शृंखला शुरू भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टीबाहेक सबै सडक संघर्षमा रहेको वर्तमान अवस्थामा प्रधानमन्त्रीविरुद्ध राजनीतिक, गैरराजनीतिक र तल्लोस्तरका व्यक्तिगत टिका–टिप्पणीको समेत बौछार हुन थालेको छ ।

यही मेसोमा नेकपाको सरकार बनेदेखि र सो सरकारमा अफ्नो सामेली नभएदेखि नै आफ्नो पार्टीको सरकार र प्रधानमन्त्रीविरुद्ध तल्लोस्तरको गाली गलौजमा उत्रिएका नेता डा. भीम रावलले प्रधानमन्त्रीप्रति ‘महिलाको अंग मिसिएकाले दिमागले काम नगरेको’ भनी गरिएको भनिएको टिप्पणी सामाजिक सञ्जालमा भाइरल भएको छ ।

निर्मल भट्टराई

‘माओवादी विद्रोह’मा भर्खरै पीएचडी गरेका डा. रावलले प्रधानमन्त्रीविरुद्ध रिस पोख्दा आम महिलाको मानमर्दन किन गरे होलान् ? राजनीतिक शास्त्रका डाक्टरले मेडिकल डाक्टरको क्षेत्रमा किन हात हाले हिलान् ?

भाषाको सोझो र घुमाउरो अर्थ हुन्छ भन्ने जान्दाजान्दै महिलालाई पुरुषभन्दा तुच्छ देखाउने प्रष्ट आशय झल्कने यो टिप्पणीले उनमा कम्युनिष्ट सोचभन्दा सामन्ती सोच हावी छ भन्ने देखाउँछ ।

एउटा घरानियाले कुनै बखत एउटा भव्य भोजको आयोजना गरेछ । उसले देशका राष्ट्रपति, प्रधानमन्त्री लगायतका करिब १०० जना विशिष्ट अतिथिहरू आमन्त्रण गरेछ । पार्टी प्यालेसको समस्याले भोज अपराह्न ठीक ४ बजे शुरू गर्नु पर्ने थियो । ४ बज्दा केही विशिष्टहरू आइपुगेनछन् ।

उसले बाटो हेर्दै मन खिन्न बनाउँदै भन्यो– ‘आउनु पर्ने मुख्य अतिथिहरू आईपुगेका छैनन् । तर भोज शुरू गरौं ।’ त्यहाँ उपस्थित करिब दुई दर्जन अतिथिले ‘हामी त आउनुपर्ने अतिथि नै होइन रहेछौं । आउनु पर्ने त बाँकी पो रहेछन् !’ भनेर भोजमा सरिक नै नभई हिँडेछन् ।

आएका पाहुना भोजमा सरिक नै नभई हिंडेको देखेपछि त्यो घरानियाले झन खिन्न हुँदै भनेछ– ‘नजानु पर्ने पाहुना भोज नखाई गए ।’ अरु करिब दुई दर्जन पाहुनालाई लाग्यो– ‘ए, उनीहरू चाहिँ नजानु पर्ने पाहुना, हामी चाहिँ जानुपर्ने पाहुनारु’ उनीहरू पनि भोजमा सरिक नभई हिंडे ।

भोज आयोजकको खिन्नताको पारो झन् बढ्यो । उसले फेरि भन्यो– ‘हरे, मैले यो कुरा कहाँ उहाँहरूलाई भनेको हो र !’ बाँकी पाहुना पनि भोज नखाई हिँडे किनभने उनीहरूले ठाने– ‘त्यो कुरा उनीहरूलाई नभनेको भए पक्का हामीहरूलाई भनेको हो ।’

तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको चुनावी अभियानमा उनकी पत्नी न्यान्सी रेगनले एउटा टेलिफोन वार्तालापमा त्यहाँको आमसभामा उपस्थित सबैले सुन्ने गरी भनेकी थिइन– ‘म यहाँ सुन्दर गोरा मानिसहरूसँग रमाईरहेकी छु ।’

त्यहाँ उपस्थित सबै काला जातीका मानिस रिसाए किनभने उनीहरूले न्यान्सीको भनाइको यस्तो अर्थ लगाए– ‘न्यान्सीको बुझाईमा काला मानिस सुन्दर नहुँदा रहेछन् र उनी काला जातिसँग रमाउने रहिनछन् ।’

एकपटक फ्रान्समा ईसाई प्रार्थना गृहमा बम प्रहारबाट थुप्रै हताहती भयो । त्यहाँका प्रधानमन्त्रीले सो कार्यको भत्र्सना गर्दै भने– ‘यो निर्दोष फ्रेन्च जनतामाथि गरिएको बर्बर आक्रमण हो ।’ यो वक्तव्यको आलोचना गरियो किनभने यसको यस्तो अर्थ लगाइयो– ‘के फ्रेन्च जनतामात्र निर्दोष हुँदारहेछन् ? के यो आक्रमण यहुदी वा डचमाथि गरिएको भए कम बर्बर हुन्थ्यो ?’

यी प्रसङ्गहरूमा वक्ताको नियतमा कि वक्ताको भाष्यमा कमजोरी थियो प्रष्ट देखिदैन । यसैगरी नेपाली नेताहरूको भाष्यमा सबै जनताले अपनत्वको महसुस गर्न सकिरहेका छैनन् ।

राष्टिय अखण्डता, सार्वभौमिकता, धार्मिक एवम् जातीय सहिष्णुता, राष्ट्रिय एकता र वैदेशिक सम्बन्धको बारेमा सबै नेताको समान धारणा हुनु पर्नेमा त्यसो हुन सकेको छैन । उदाहरणस्वरूप थारु बाहुल्य क्षेत्रमा ‘यो थारुहरूको थात थलो हो ।’ भनेर भाषण गर्ने नेताले त्यहाँ युगौंदेखि बसोबास गरिरहेका अन्य समुदायले अमिलो मन बनाएको कति हेक्का राखे होलान् ।

हालसम्म पनि मधेशका मुद्दा उठाउने नेताले तराई मधेशमा बस्ने सबै जनताले सो मुद्दा आफ्नो बनाउन सकिरहेका छैनन् ।

संविधान निर्माणको बेला प्रदेशको सीमाङ्कनको छलफलमा ‘मेरो आँगनसम्म छ, त्यो पनि लैजाउ’ भन्ने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणी नेपाली राजनीतिको बजारमा मीठो अचार बन्यो तर त्यसको उपयुक्तताको बारेमा कहिल्यै बहस भएन ।

अर्को शीर्ष नेताले ‘अरु मलाई थाहा छैन, कैलाली कन्चनपुर फुटाउन पाईंदैन’ भन्दा अन्यत्रका जनताले ‘कैलाली र कञ्चनपुर मात्र नटुक्र्याउने अन्तचाहिँ जे गरे पनि हुने’ भन्ने अर्थ लगाउलान् भन्ने चिन्ता देखिएन ।

कुनैबेला नेता प्रचण्डले ‘क्याम्पसतिर महेन्द्रीय राष्ट्रवादी हावा धेरै चल्न थालेकाले वाइसीएललाई तयार रहन’ आदेश दिंदा यसको अर्थ त्रिविविभित्र बाहुबलीय उपस्थितिका लागि खुल्ला आह्वान गरेको अर्थ लाग्छ भन्ने ठानेनन् ।

एक पूर्वप्रधानमन्त्रीले वीरगञ्जको एउटा कार्यक्रममा ‘आजसम्म मधेशी जनताले राष्ट्रघात गरेका छैनन्’ भन्ने अभिव्यक्ति दिंदा यसको अर्थ खसआर्य र आदिवासीले आजसम्मको राष्ट्रघात खसआर्य र आदिवासीको हातबाट मात्र भएको हो कि भन्ने लगाउलान् भन्ने कुनै मेलोमेसो भएन ।

नेताले प्रयोग गर्ने भाषा जनमैत्री नहुँदा उनीहरूको आलोचना भइरहेछ । नेताले बोल्दा इन्द्रेणी स्वरूपको नेपाली समाजको चित्रलाई ख्याल गरे आखिर के बिग्रन्छ र ? एक शीर्ष नेताको बोलीमा सबै जनताले जतिसुकै न्यून प्रतिशतमा नै किन नहोस्, आफ्नो भावना समेटिएको महसुस गर्न पाउनु पर्दछ । फगत बोलीमा भाँती नपुर्याउँदा पदबाट नेताले हात धुनु परेको उदाहरण पनि यहाँ छ ।

नेता समाजको समाजको अग्रणी हो । उसलाई जनताले विश्वास गरेको हुन्छ, काँध थापेको हुन्छ । नेतालाई जतिसुकै संकट परेको होस्, रिस र आवेग उत्पन्न भएको होस्, व्यक्तिगत स्वार्थ र कुण्ठाले ग्रस्त पारेको होस्, नेता डा. भीम रावलले जसरी मर्यादाको लक्ष्मणरेखा मिच्न मिल्दैन ।

नेकपा एकता पनि राजनीतिक विषय हो, हालको संकट पनि राजनीतिक नै हो । विशुद्ध राजनीतिक विषयमा नेताले नै असभ्य, अराजनीतिक त तल्लोस्तरको गाली गलौजमा उत्रन पटक्कै सुहाउँदैन । यो साँध र सम्पत्तिको झगडा होइन, जहाँ आमाचकारी
र मुङ्ग्रामुङ्ग्री होस् । राजनीतिक झगडामा मर्यादाको साँध भत्किए अराजकताले राज गर्ने उच्च खतरा हुन्छ ।

अरु नेताजस्तै आवेशमा बोल्ने अनि विरोध भएपछि भनेकै होइन भनेर खण्डन गर्ने परम्परा त डा. भीम रावलले पनि निभाएका छन् तर बुझ्नेले उनको मनोदशालाई राम्ररी बुझेका छन् ।

प्रतिक्रिया
सम्बन्धित