
काठमाडौं, ५ पुस । आइतबार बिहान बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद विघटन गर्न सिफारिस गरेका छन् ।
उक्त सिफारिस लिएर प्रधानमन्त्री ओली यतिबेला राष्ट्रपति भवन शितलनिवास पुगेका छन् ।
संसद विघटनको सिफारिससँगै नेपाली राजनीतिमा ठूलो हलचल पैदा भएको छ भने प्रधानमन्त्री ओलीको विरोध शुरु भएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै उनको चर्को आलोचना शुरु भएको छ ।
संसद विघटनको अवस्थामा किन पुगे ओली ?
सामान्यतः यो परिस्थिति सत्तारुढ दलबाटै निर्माण गरिएको हो । करिब दुई तिहाईको मतका साथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विजयी भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने ।
प्रधानमन्त्री बनेको केही महिनाबाटै ओलीलाई पदबाट हटाउने उद्देश्यअनुसार पार्टीभित्रैबाट अनेकन झमेलाहरु सृजना गरिँदै लगिए । खासगरी पार्टीका बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बामदेव गौतमलगायत नेताहरुले ओलीका विरुद्ध अनेक झमेलाहरु खडा गर्दै लगे ।
पार्टीको विवाद समाधानमा भन्दा बढी एकअर्कालाई चिढ्याउने खेलमा नेताहरु लागेकै कारण प्रधानमन्त्री ओली यो अवस्थामा पुगेको उनी निकट नेताहरु बताउँछन् ।
पछिल्लोपटक ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई लिएर ओलीइतरका नेताहरु प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी बुझेपछि ओलीले नयाँ जनादेशका लागि भन्दै नयाँ कदम उठाएका हुन् ।
ओली विरोधी समूहले त्यसका लागि हस्ताक्षर गरी संसदमा दर्ता गर्ने अन्तिम तयारी थालेको थियो ।
राष्ट्रपतिविरुद्ध प्रस्ताव दर्ता गरी निस्क्रिय बनाएपछि राष्ट्रपति नन्दबहादुर पुन मार्फत आफ्ना योजना पूरा गर्ने दाउमा यो समूह लागेको थियो ।
उक्त सूचना शितल निवास र बालुवाटारमा लिक भएपछि ओलीले आइतबार बिहान आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाई संसद विघटनको सिफारिस गरेको बताइएको छ ।
नेकपाभित्र चुलिएको विवादसँगै भएको यो निर्णयले मुलुकलाई फेरि अस्थिरतातर्फ धकेलेको छ ।















प्रतिक्रिया