६ मंसिर २०८३, आइतबार

सरकार बिघठन गरेर नयाँ चनाव गरौँ, हिन्दू धर्म देशको पहिचानः कांग्रेस नेता भण्डारी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युटार, ५ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले झण्डै दुईतिहाइको सरकारको औचित्य समाप्त भएको भन्दै बिघठनको प्रस्ताव गरेका छन् ।

नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार प्युटारमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै तरुण विभागका प्रमुख समेत रहेका भण्डारीले सरकारलाई बिघठन गरेर नयाँ जनादेशका लागि जानुपर्ने बताएका हुन् । उनले कांग्रेसले अबको निर्वाचनमा जनताको मन जितेर ठूलो पार्टी बनेर एकलौटी सरकार बनाउने बताएका छन् ।

‘यो सरकारको औचित्य सक्किएको छ । सरकार आजै बिघठन गरिदिए हुन्छ’, उनले भने, ‘छिटोभन्दा छिटो नयाँ जनादेशका लागि गए हुन्छ ।’

‘कांग्रेसले जनताको घरघर पुगेर जनतालाई कुरा बुझाएर, मन जितेर विगतमा भएका केही कमीकमजोरी छन् भने आत्मसा तगर्दै स्वीकार गरेर सुधारेर निष्पक्षपूर्वक ईमान्दारितापूर्वक जनताको सेवा गरेर गाउँको विकास गर्दै समृद्धि नेपाल, सम्पन्न नेपाल, सुखी नेपाल बनाउने अभियानमा लागौँ’, कांग्रेसका नेता भण्डारीले भनेका छन् ।

हिन्दू धर्म संस्कृति र परम्पराको बचाउ गरेका कांग्रेस नेता भण्डारीले नेपालको पहिचान मेटाउने काम कम्युनिस्टहरूले गरेको बताएका छन् ।

‘श्रीलंका, चीन, वर्मा, म्यानमारलगायतका देशले नेपालमा जन्मिएको बुद्ध धर्मलाई उनीहरू मान्छन् । हामीलाई मतलव छैन’, उनले भने, ‘यो देश सनातन हिन्दू धर्म संस्कृतिको देश हो ।’

‘आज अमेरिकाले भ्याटिकन सिटी, धर्म आफैमा नैसर्गिक अधिकार हो । सबै धर्म सम्मानित हुन्छ’, नेता भण्डारीले भने, ‘जुनसुकै धर्मको पनि आफ्नो ठाउँमा महत्व छ । धर्मअनुसार देशको पहिचान हुन्छ ।’

उनले भने, ‘अमेरिकालाई चलाउने मूल केन्द्र विन्दु अर्थात केन्द्रस्थल भ्याटिकन सिटी भन्नेछ । भ्याटिकन सिटीले अमेरिकालाई निर्देशित गर्छ । भ्याटिकन सिटीको ईसारामा अमेरिका चल्छ ।’

‘मक्का मदिना भन्ने सुन्नुभएको छ ? मक्का मदिनाले विश्वको एकतिहाइ भूगोललाई कन्ट्रोल गरेको छ । नियन्त्रण गरेको छ’, उनले भने, ‘आज दुई अर्बभन्दा बढी हिन्दूहरू संसारभरि छन् । त्यसको केन्द्र विन्दु नेपाल थियो । त्यसलाई समाप्त पार्नको लागि कम्युनिस्टहरू लागेका छन् ।’

पूर्वमन्त्री भण्डारीले भनेका छन्, ‘कांग्रेस पनि हिन्दू धर्मका विषयमा भ्रममा छ । दुःख लागेको छ । देश बचाउने भनेको मुखले मात्रै होइन । देशको धरोहर, पहिचानलाई बचाएर, साधन स्रोतलाई उपयोग गरेर देश र जनताप्रति निष्ठा राखेर काम गरेपछि देश भन्छ ।’

‘भाषणले देश बन्दैन । कम्युनिस्ट पार्टीले देखाइसक्यो । कांग्रेस भ्रममा हुनु हुँदैन भन्ने मेरो आग्रह छ’, उनले भनेका छन्, ‘यो मुलुकको पहिचान जोगाउँदै, मुलुकमा रहेका १२५ भन्दा धेरै भाषिक, १२३ भन्दा धेरै जातजातिलाई मिलाएर जानुपर्छ ।’

‘कांग्रेस बलियो हुनुपर्छ । कांग्रेस बलियो भयो भने देशको राष्ट्रियता र लोकतन्त्र बलियो हुन्छ’, उनले भने, ‘हामीलाई अधिकार पनि चाहिन्छ । लोकतन्त्र भनेको त्यही हो ।’

‘कम्युनिस्टले जिते । संविधान बनेन । बाहिरको व्यक्ति खिलराज रेग्मीलाई ल्याएर कम्युनिस्टले सरकार बनाए’, उनले भने, ‘मुलुकमा भएका परिवर्तनको नेतृत्व सधैँ कांग्रेसले गरेको छ । संविधान कांग्रेसले बनाएको हो ।’

‘सरकारमा बसेकाहरूलाई कांग्रेस भनेपछि कसरी फसाउने भन्ने ध्यान छ’, उनले भनेका छन्, ‘कानून पनि त्यस्तै बनेको छ । ‘आशय’को नाममा जसलाई जे आरोप लगाइदिए पनि भएको छ । अहिले त्यही तथ्य देखियो । तनहुँको घटना देख्नुभयो ।’

उनले कांग्रेस पार्टीलाई सत्ताको ताबेदारी गरेर दुःख दिने काम बन्द गर्न प्रहरी प्रशासनलाई सचेत गराएका छन् । ‘कतिपय ठाउँमा सीडीओहरूको कुरा आयो । सीडीओहरू नेकपाको पोलिटब्युरो सदस्यहरू जस्तो बनेर काम नगरुन्’, उनले भने, ‘प्रशासकले कांग्रेसलाई दुःख दिने व्यवहार गरेको हामीले खेप्दै आएका छौँ । उनीहरूलाई अहिले नेकपालाई भक्ति गरेको भनेर लागिरहेको होला ।’

‘त्यसको रेकर्ड शंकर भण्डारीसँग छ । भोलि हामी आउँदा के होला ? मानौ तपाईहरूले मलाई पत्याएर म गृह मन्त्री भएँ भने के होला ?’, प्रश्न गर्दै उनले भने ।
‘पुलिस प्रशासन, सशस्त्र पुलिस चाहिन्छ, शान्ति सुरक्षा चाहिन्छ भनेर स्व.खुमबहादुर खड्काले स्थापना गरेको हो । खुमबहादुर खड्कासँग सँगै बसेको हुँ । मलाई सबै कुरा थाहा छ । अहिले दुःख दिनेहरूलाई हाम्रो सरकार आयो भने देखाउँछौँ’, उनले भनेका छन् ।

‘हाम्रै पार्टीको गृहमन्त्रीलाई चलाउने हामी भइहाल्छौँ । कहाँ जान्छन् यिनीहरू ? आज पनि भन्छु म’, कांग्रेस नेता भण्डारीले भने, ‘सत्ताको ताबेदारी गरेर कुनै पनि प्रशासक । चाहे सीडीओ, पुलिस, चाहे अरु जनसरोकारवाला कार्यालयका मान्छेले कांग्रेसका कुरा नसुनेर हेपेर दुर्व्यवहार गर्‍यो भने तिनीहरूको तीन पुस्ता हामी राख्छौँ । अरुले राखेनन् भने पनि म राख्छु । मैले छाड्नेवाला छैन । यो भन्ने बाध्यता बनायो । हाम्रो चरित्र होइन यस्तो भन्ने । हामी सम्मान गर्छौं । बाध्य बनाएपछि यो कुरा गर्छौं ।’

कांग्रेसले सामाजिक सुरक्षा भत्ताका नाममा वृद्धवृद्धालाई सबैभन्दा पहिला भत्ता दिन थालेको उनले बताएका छन् । तत्कालीन अर्थमन्त्री महेश आचार्यको पालामा कांग्रेसले रु. ५० दिन शुरु गरेको उनले बताए ।

‘कांग्रेसले वृद्धाहरूलाई सामाजिक सुरक्षा भत्ताको नाममा रु. ५० रुपियाँ दिन शुरु गरेको थियो’, उनले भने, ‘एमालेले नाम फेरेर वृद्ध भत्ता राखेर जस लियो । स्वरोजगार र प्रधानमन्त्री कार्यक्रम पनि कम्युनिस्टले कांग्रेसको ग्रामीण स्वावलम्बन कार्यक्रम चोरी गरेको छ । कांग्रेसले त्यस बेला नै ५० हजार दिएको थियो ।’

यसैबीच, कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट वडाध्यक्षमा उम्मेदवार बनेका राजकुमार लामा र ओमप्रसाद तिमल्सिना ‘आकाश’सहित झण्ड दुई सय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई कांग्रेस नेता एवम् पूर्वमन्त्री भण्डारी, पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा, खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनसहितका नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।