
काठमाडौँ, २९ मंसिर । उखु किसानले वार्ता गर्न अस्वीकार गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले सोमबार आन्दोलनरत उखु किसान तथा उद्योगीलाई वार्ता गर्न बोलाएका थिए । मन्त्रालयका अनुसार किसानहरु वार्ताका लागि आएनन् ।
विभिन्न उद्योगहरुबाट करिब ८० करोड बक्यौत्ता रकम किसानहरुले पाउन बाँकी रहेको जनाइएको छ । मन्त्रालयमा आज चिनी उद्योगहरुसँग भएको छलफलमा किसानलाई दिन बाँकी रहेको रकम छिट्टै दिने उद्योगहरुले प्रतिवद्धता गरेको जनाइएको छ ।
यसअघि पनि मन्त्री भट्टले उद्योगीहरुलाई किसानको बक्यौता रकम दिन आग्रह गरेका थिए । उद्योगीहरुले एक महिनाभित्र रकम दिने बताए पनि हालसम्म कुनै लक्षण नदेखिएपछि किसानहरुले आन्दोलन सुरु गरेका छन् ।
छलफलमा मन्त्री भट्टले उद्योगीहरुलाई भने, ‘तपाईंहरुले मन्त्रालयलाई भनेको कुरा पब्लिकलाई जानकारी गराउनुस्, तपाईंहरुको के समस्या छ, के कारणले तपाईंहरुले रकम तिर्न सकिरहनु भएको छैन, कहिलेसम्म कति रकम तिर्नु हुन्छ, ती सबै कुरा सार्वजनिक गर्नुस् ।’
उद्योगीहरुले आज नभए भोलिसम्ममा सबै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया