६ मंसिर २०८३, आइतबार

भक्तपुरमा महिला मृत फेला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २७ मंसिर । भक्तपुरको चाँगुनारायण नगरपालिका ४ फूलबारीस्थित एक घरटहरामा एक महिला मृत फेला परेकी छिन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार काभ्रेको खानीखोला गाउँपालिका घर भएकी ४३ वर्षीया अन्तरीमाया थिङ मृत अवस्थामा फेला परेकी हुन् ।

उनी फूलबारीस्थित मीनबहादुर खत्रीको ब्लक, सिमेन्ट र जस्ताले बनेको घरटहरामा डेरा गरी बस्दै आएको परिसरका सूचना अधिकारी प्रहरी निरीक्षक सुवास बुढाथोकीले बताए ।

उनका अनुसार खत्रीको दुईकोठे घरटहरामध्ये एउटामा थिङको परिवार र अर्कोमा ज्यालामजदुरी गर्ने सातजना पुरुष मजदुरहरू बस्दै आएका थिए ।

दुई कोठे उक्त घरटहरामध्ये थिङ मजदुर बस्ने कोठामा मृत भेटिएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए ।

थिङ मृत फेला परेपछि उक्त कोठामा डेरागरी बस्ने सातैजना मजदुरलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको उनले बताए ।

नियन्त्रणमा लिएका मजदुरहरुले दिएको बयानअनुसार त्यसदिन थिङले अधिक मादकपदार्थ सेवन गरेकी थिइन् । एउटै घरटहरामा बस्ने भएकाले थिङ र मजदुरहरूबीच राम्रै बोलचाल थियो । कोठामा पनि आउजाउ रहेको देखिएको प्रहरी अधिकारी बताउँछन् ।

मजदुरहरूले चाँगुकै एक निर्माण व्यवसायीको मातहतमा काम गर्दै आएका छन् । जसले गर्दा उक्त कोठामा उनीहरु खाने र सुत्नेमात्रै भएकाले कहिल्यै ताला नलाग्ने पाइएको प्रहरी निरीक्षक बुढाथोकी बताउँछन् ।

उनका अनुसार श्रीमान र सुस्त मनस्थिति भएकी आठ वर्षीया छोरीसँगै बस्दै आएका थिङ पनि ज्यालामजदुरी नै गर्छन् । घटना भएको २–३ दिन अघिमात्रै थिङका श्रीमान गाउँ गएको उनले बताए ।