काठमाडौं, २६ मंसिर । मौशम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको जनाएको छ ।
देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश १ को पहाडी भू–भागका एक–दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावनासमेत रहेको महाशाखाका मौसमविद्ले बताएका छन् ।
अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।
नेपालमा पश्चिमी वायुको प्रवेशसँगै अरेबियन सागरको जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकोले मौसममा परिवर्तन आएको महाशाखाले जनाएको छ ।
यसका कारण देशका धेरै ठाउँको तापक्रम घटेको र तराईका धेरैजसो ठाउँमा बिहानैदेखि हुस्सु लाग्न सुरु भएको छ । तराई क्षेत्रमा हुस्सुका कारण सडक र हवाई यातायातमा प्रभाव पर्ने भएकोले विशेष सावधानी अपनाउन महाशाखाका मौसमविद्ले आग्रह गरेका छन् ।
महाशाखाले निकालेको बुलेटिनअनुसार शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।











प्रतिक्रिया