२ कार्तिक २०८३, सोमबार

नेकपा अनुशासन आयोगको प्रश्न– जनता र राष्ट्रको हितभन्दा के हाम्रा अरु कुनै स्वार्थ छन् ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, २४ कात्तिक । सत्ताढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय अनुशासन आयोगले पार्टी बैठक तत्काल बोलाउन शीर्ष नेतालाई आग्रह गरेको छ ।

पार्टीभित्रको विवाद समाधानका लागि नेताहरुबीच भइरहेको आरोप–त्यारोप छाडेर अविलम्ब बैठक आह्वान गर्न आयोगले आग्रह गरेको हो ।

आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टी भित्रको विवाद माक्र्सवादी र विधिसम्मत तरिकाले आपसमा बसेर समाधान गर्न शीर्ष नेतालाई सुझाव समेत दिएका छन् ।

सोमबार एक वक्तव्य जारी गर्दै उनले विगतमा पार्टीभित्र देखिएको ठूला–ठूला विवादहरु समेत सहजै समाधान गरेको स्मरण गराउँदै नेताहरुलाई आपसमा आरोप–प्रत्यारोप र स्वार्थ त्याग्न आग्रह गरेका छन् ।

‘हामीसँग अन्तरपार्टी विवाद सञ्चालनका निक्कै राम्रा माक्र्सवादी परम्परा रहेका छन् । विगतमा पार्टीमा उत्पन्न ठूलठूला विवादहरु पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरणहरु हामीसँग छन् । त्यतातर्फ म नेतृत्वगणको ध्यानाकर्षण गर्दछु’, वक्तव्यमा लेखिएको छ ।

विधि र पद्धति पार्टीका प्राण भएको बताउँदै वक्तव्यमा लेखिएको छ, ‘पद्धति र प्रणाली रहेन भने पार्टी जीवन रहँदैन । यी कुराहरु हामील बुझेकै छौं । तर, हामी किन पार्टी विधान अनुसार विधि पद्धतिको पालना गर्दैनौं ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौं ? जनता र राष्ट्रको हितभन्दा के हाम्रा अरु कुनै स्वार्थ छन् ? अनि हामीहरु किन नितान्त आत्मकेन्द्रित भएर सोच्दछौं ।’

अध्यक्ष बोहराले गत भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयनका लागि तत्परता देखाउन आग्रह गर्दै समृद्ध समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न पार्टी एकता जरुरी भएकाले फुटतर्फ नलाग्न पनि ध्यानाकर्षण गराएका छन् ।

‘जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं । पार्टी एकताका बाँकी सबै काम छिटो पूरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र सङ्गठनात्मक रुपमा एकताबद्ध बनाऔं । पार्टीमा देखापरेका अनुशासन र पद्दतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा विचलन जस्ता विद्यमान विकृति र विसङ्गतिलाई सघन वैचारिक सङ्घर्षद्वारा परास्त गरौं’, उनले आफ्नो वक्तव्यमा भनेका छन् ।