
नुवाकोट, २४ कात्तिक । नुवाकोटमा यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ ।
आइतबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार कात्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
कोरोना भाइरसको संक्रमण फैलिने डरले तिहारमा देउसीभैलो खेल्न नपाइने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जारी गरेको आदेशअनुसार कात्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरिएको हो ।
काठमाडौंका अस्पतालहरू कोरोना संक्रमितले भरिभराउ भइसकेको र आइसियू तथा भेन्टिलेटर सेवा पर्याप्त नभएकाले रोग नियन्त्रण गर्न निषेधाज्ञाको पालना गर्न अपिल गरिएको छ ।
धार्मिक, सांस्कृतिक तथा समूहमा भेला भएर गरिने कार्यक्रमले रोगको जोखिम बढाउने भन्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जारी गरेको आदेशमा भनिएको छ ।
निषेधाज्ञाको समयमा बजार क्षेत्र भने खुला राख्ने, गाडी सञ्चालन कायमै रहे पनि त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने भनिएको छ ।
स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए–नभएको बारेमा जनप्रतिनिधिसहित प्रहरीको टोलीलाई अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।
प्रशासन कार्यालयका अनुसार नुवाकोटमा हालसम्म कोरोना संक्रमितको संख्या ६१९ पुगेको छ । तीमध्ये २८८ जना निको भइ घर फर्किसकेका छन् भने ३२९ जना सक्रिय संक्रमित छन् ।
सक्रिय संक्रमतिमध्ये सात जना त्रिशूली अस्पतालको आइसोलेसनमा र ३२२ जनालाई चिकित्सकको निगरानीमा होम आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए । रासस















प्रतिक्रिया