
काठमाडौ, २४ कात्तिक । मनाङबाहेक देशका सबै (७६ वटा) जिल्लामा कोरोनाको सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १२ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् । झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, नवलपरासी पूर्व, रुपन्देही र दाङमा ५०० भन्दा धेरै सक्रिय सङ्क्रमित रहेको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयले आइतबा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको विवरणमा सङ्क्रमित हुने र निको हुनेको सङ्ख्या बराबरी जस्तै देखिएको छ । तथ्याङ्क अनुसार सङ्क्रमित र निको हुनेको फरक ५ जना मात्रै छ । निको हुनेभन्दा सङ्क्रमित ५ जना बढी रहेको मन्त्रालयले जनाएको छ ।

आइतबार नेपालमा कोरोना भाइरसका दुई हजार ८१७ सङ्क्रमित थपिए भने दुई हजार ८१२ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये २२ प्रतिशतभन्दा बढी व्यक्तिमा सङ्क्रमण देखिएको छ ।
कुल सङ्क्रमितको सङ्ख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । अहिले ३५ हजार ४१९ जनामा भाइरसको सक्रिय सङ्क्रमण छ । यसैगरी कुल १ लाख ५७ हजार ९२६ जना निको भएका मन्त्रालयले जनाएको छ ।
यस्तै देशका विभिन्न अस्पतालमा ३९८ जना सघन उपचार कक्ष (आईसीयू) र ८२ जना भेन्टिलेटरमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा २१ जना कोभिड सङ्क्रमितको ज्यान गएको छ । योसँगै अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १ हजार १०८ जना पुगेको छ ।















प्रतिक्रिया