८ कार्तिक २०८३, आइतबार

सर्लाहीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ४७ घाइते, २० राउण्ड अश्रुग्यास प्रहार

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असोज । सर्लाहीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ४७ जना घाइते भएका छन् ।

कार्यकर्ता हत्याको उजुरीसहित प्रदर्शनमा उत्रिएका कांग्रेस कार्यकर्ता र प्रहरीबीच मलंगवामा वुधबार दिउँसो झडप भएको थियो ।

झडप क्रममा नेपाल प्रहरीका दुई प्रहरी नायव उपरीक्षकसहित २० जना प्रहरी र सशस्त्र प्रहरीका एक प्रहरी निरीक्षकसहित १० जना घाइते भएका छन् । यस्तै प्रदर्शनकारीतर्फका १७ जना घाइते भएका छन् ।

भीड नियन्त्रणका लागि प्रहरीले २० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । कांग्रेसले आफ्ना कार्यकर्ता रामनगर–७ सिसौटका महेन्द्र रामको हत्याको घटनामा प्रहरीको भूमिका निष्पक्ष नरहेको आरोप लगाउँदै प्रदर्शन गरेको हो ।

२१ गते बेलुका घर अगाडि बसिरहेका बेला राममाथि केही समूहले आक्रमण गरेको परिवारले बताएका छन् । आक्रमणमा परेर सख्त घाइते भएका रामलाई तत्कालै जिल्ला अस्पालमा पुरयाइएको थियो ।

तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्ज रेफर गरिएको थियो । उपचारको क्रममा २२ गते अस्पतालमै रामको ज्यान गएको थियो ।

रामको शव पनि परिवारले बुझेका छैनन् । कांग्रेसले मृतक रामलाई सहिद घोषणा र हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्नु पर्ने माग राखेको छ ।

प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेको बताउँदै आएको छ ।