३१ आश्विन २०८३, शनिबार

सहकारी संकटको सारथी हो : मल्ल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, १७ असोज । राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघकी ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारी क्षेत्र जनताको संकटको सारथी भएको बताएकी छिन् ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङले शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा मल्लले यस्तो बताएकी हुन् । कोरोना संंक्रमणको संकटपूर्ण अवस्था होस् वा बाढी पहिरोलगायत विपत्ति होस् सहकारी अभियान अग्रस्थानमा रहँदै पीडितको सेवामा समर्पित भएको भन्दै उनले हरेक संकटमा सहकारी सारथीको रुपमा उभिएको दाबी गरेकी हुन् ।

सहकारी भनेको केवल वित्तीय कारोबार गरेर नाफा आर्जन गर्ने संस्था हो भन्ने मानसिकताको विपरित सहकारी अभियानले मुलुकमा देखिएको हरेक संकटमा सारथीको रुपमा काम गरेको उनको भनाइ छ ।

‘सहकारी क्षेत्रमा समाज रुपान्तरणको महत्वपूर्ण माध्यमका रुपमा स्थापित भएको छ, यसलाई राज्यको तर्फबाट उचित सम्बोधन हुन सकिरहेको छैन’, महासंघका वरिष्ठ उपाध्यक्ष मल्लले भनिन्, ‘एकाध सहकारीले गरेको बदमासीलाई लिएर सिंगो सहकारी अभियानलाई कमजोर बनाउने काम गर्नु भएन ।’

सहकारी अभियानमा पनि थुप्रै समस्याहरु भएको औंल्याउँदै उनले समस्या नभएको क्षेत्र नहुने प्रष्ट पारिन् । समस्याको समाधान गर्दै आम समुदायको हितमा काम गर्न सहकारीकर्मीहरुलाई उनले आह्वान समेत गरेकी छिन् ।

कोरोनाको महामारी, बाढी पहिरो लगायतका संकटपूर्ण अवस्थामा राज्यसँगै सहकारी साझेदारका रुपमा उपस्थित भएको स्मरण गराउँदै उनले सहकारीलाई बेवास्ता गरेर अगाडि बढ्ने दुस्साहस कुनै पनि राजनीतिक दल वा नेतृत्वका लागि घातक हुने चेतावनी दिइन् ।

स्वागत कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसी (अञ्जु), नेफ्स्कुनका केन्द्रीय सदस्य चण्डी प्रसाद शर्माले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रम संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोकगोविन्द राजभण्डारीको स्वागत र सचिव तेजेन्द्र थापाले सञ्चालन गरेका थिए ।