
काठमाडौं, १६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारीले असमानताको जोखिम बढाएको बताएकी छिन् ।
महिलासम्बन्धी चौथो विश्व सम्मेलनको २५औं वाषिर्कोत्सव अवसरमा उच्चस्तरीय बैठकलाई सम्बोधन गदै उनले कोरोनाको महामारीलाई प्रगतिको बाधक बन्न दिन नहुनेमा जोड दिँदै सो कुरा बताएकी हुन् ।
समयमै स्याहार, खोपमा समान पहुँच एवं महिला, किशोरी तथा बालिकाहरुको आर्थिक तथा सामाजिक आवश्यकताहरू सम्बोधन गर्न पुर्नलाभका योजना जरुरी रहेको राष्ट्रपति भण्डारीको भनाइ छ ।
समाजमा संरचनागत खाडल तथा चुनौतीहरु पनि कायमै रहेको उल्लेख गर्दै उनले बेइजिङ घोषणापत्र तथा कार्ययोजनाले महिला, किशोरी तथा बालिकाहरूको समानता र सशक्तीकरणका लागि रुपान्तरणकारी खाका प्रदान गरेको बताइन् ।
विभेदका अवशेषहरु निर्मूल पार्न र कार्यान्वयनमा रहेका कमजोरीलाई सुधार्न प्रतिबद्ध रहेको भन्दै राष्ट्रपति भण्डारीले बेइजिङ घोषणापत्रमा अन्तर्निहित सरोकारका बाह्र क्षेत्रहरूमा क्रमिक रूपमा प्रगति हुँदै गएको बताएकी छिन् ।















प्रतिक्रिया