बुधबार, ५ वैशाख २०८१
DainikNepal.com
बुधबार, ५ वैशाख २०८१

जगमोहन बचाउन सहयोगको अपिल

दैनिक नेपाल २०७७ असोज १५ गते ८:२०

कपिलवस्तु, १५ असोज । घरमा बृद्ध बाबु आमा, श्रीमती र ६ वर्षीय छोरी ।

रोजगारीको सिलसिलामा २०१८ अप्रिलमा उनी दुबई पुगे । त्यहाँ राम्रै जागिर पाएका थिए उनले । हाँसीखुशी जीवनमा अचानक ठूलो बज्रपात आइलाग्यो । अहिले उनी बैशाखीको सहारामा जीवन जिउन बाध्य छन् । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ५ का जगमोहन बुढामगर हुन् उनी ।

१६ अप्रिल २०२० को दिन नियमित ड्युटीको क्रममा सिँडीबाट चिप्लिएर खुट्टा मर्कियो । सामान्य दुखाई होला भनेर आफ्नो ड्युटी निरन्तर गरिरहे उनले । दुई महिनापछि बुढामगरको खुट्टा अचानक सुन्नियो । खुट्टाको छाला कालो हुन थालेपछि उनी क्लिनिक हुँदै दुबईस्थित रसिद हस्पिटल जचाउन पुगे । डाक्टरहरुले हेरेपछि उनको खुट्टामा संक्रमण भएको र रगतको माध्यमबाट शरीरमा संक्रमण फैलिई बचाउन पनि असम्भव हुन सक्ने जानकारी गराए ।

जगमोहन बुढामगर

पछि एउटा खुट्टा काटेर भए पनि बाँकी जिन्दगी जिउने आशामा उनले दाहिने खुट्टाको घुँडाबाट तल्लो भाग काटेर फाल्ने निर्णय गरे । दुबईस्थित एम.बि.एम. क्लिनिङ्ग कम्पनीमा क्लिनरको काम गरी परिवारको जीवन धानेका जगमोहन अहिले बैशाखीको सहारामा जीवन बिताउन बाध्य छन ।

परिवारको एकमात्र कमाउने मान्छे जगमोहन आफ्नै एउटा खुट्टाको सहारामा जिउन परेपछि परिवारमा ठूलो बज्रपात परेको छ। हामी सबैले सकेको सहयोग गर्ने हो भने जगमोहनको पीडामा केही राहत पुग्नेछ । प्लास्टिकको नक्कली खुट्टा राख्न सकेमा उनलाई केही सहज हुने थियो ।

बुढामगरको जीवन रक्षाका लागि अहिले दुबई बस्दै आएका दुर्गा बहादुर सुनारको अगुवाईमा जगमोहन बचाउ आर्थिक सहयोग अभियान संचालन गरिएको छ । बुढामगरलाई नक्कली खुट्टाको लागि १८ जना सहयोगी हातहरुबाट १ हजार ७३ यूएई दिर्हाम संकलन भइसकेको सहयोग संकलन समितिका अगुवा दुर्गा सुनारले जानकारी दिएका छन् ।

जसमा विष्णुदेवी सुनार (पोखरा) बाट ५०, बुटवलका टेक वि.क.बाट ५०, जीवन बि.क. बाट ३० सहयोग प्राप्त भएको छ । यस्तै कपिलवस्तुका दिलबहादुर वि.क.बाट ५५, भिमकान्त अधिकारीबाट ५०, प्रेम सुनारबाट १००, अनिल कुमार खनालबाट ५०, वसन्त थामीबाट १०५ सहयोग प्राप्त भएको समितिका दुर्गा सुनारले जानकारी दिए ।

यता प्यूठानका दुजमान सुनारबाट ३०, राजन सुनारबाट ५०, काठमाडौंका कुवैर लवरले १००, झापाका सुमी गहतराज सुनारले १००, भोजपुरका नरेश राईले ५० सहयोग गरेका छन् । यसका साथै भवानी प्रसाद तिमिल्सिनाबाट ५०, रितु रक्षाई सुनारबाट ५०, ईश्वरी थापाबाट ५१, रितु गौतमबाट ५१ र सकुन्तला आचार्यबाट ५१ सहयोग उठेको बताइएको छ ।

नक्कली प्लास्टिकको खुट्टा बनाउन नेपाली १ लाख २० हजार रुपैयाँ खर्च लाग्ने हुँदा आर्थिक सहयोगको लागि समितिले हार्दिक अपिल गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित