३१ आश्विन २०८३, शनिबार

डा. गोबिन्द केसीको जीवनरक्षा गर्न सरकारसँग माग

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । जवाफदेहीता निगरानी समितिले अनशनरत डा. गोबिन्द केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरेको छ ।

अनशनरत केसीले नेपालको स्वास्थ्य–शिक्षा क्षेत्रमा सुधार, विगतमा सरकारले गरेको प्रतिबद्धताको पूर्ण कार्यान्वयन तथा भ्रष्टचारीहरुमाथि कारबाही गर्नलगायत ६ बुँदे माग राखी थालेको १९औं पटकको पछिल्लो सत्याग्रहको १६औं दिनमा समितिले एक विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको बताएको हो ।

सरकारले डा. केसीका मागहरु सम्बोधन गर्न उदासीनता देखाएको भन्दै जवाफदेहीता निगरानी समितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

डा. केसीको अनशन कुनै व्यक्तिगत स्वार्थ नभएर शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधार, राज्यको सामाजिक न्यायको दायित्व, चुस्त ब्यवस्थापन, सुशासन तथा विगतमा सरकार र केसीबीच भएको सहमतिको पूर्ण कार्यान्वयनको लागि भएको विज्ञप्तिमार्फत दाबी गरिएको छ ।

डा. केसी १९औं पटक सत्याग्रहमा बस्नुपर्ने अवस्था सृजना हुनु दुःखपूर्ण अवस्था भएको निगरानी समितिको ठहर छ । उनलाई जुम्लाबाट काठमाडौं स्थानान्तरण गर्ने क्रममा नेशनल ट्रमा सेन्टरमा प्रहरीबाट भएको दुर्व्यवहार तथा उनका मागहरुलाई सम्बोधनका लागि दबाब सृजना गर्न शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकप्रति बल प्रयोग भएको बारे पनि समितिले चिन्ता प्रकट गरेको छ ।

‘डा. केसीका जायज मागहरुको वार्ताद्वारा तत्काल समाधान खोज्न र उहाँको बिग्रदो स्वास्थ्य स्थितिप्रति गम्भीर हुनका साथै जीवन रक्षाको लागि अविलम्ब पहल गर्न सरकार तथा सम्बन्धित निकायसमक्ष जबाफदेहिता निगरानी समिति हार्दिक अपिल गर्दछ’, विज्ञप्तिमा लेखिएको छ ।