३१ आश्विन २०८३, शनिबार

कोरोना भाइरस परीक्षण : १५ मिनेटमै नतिजा दिने प्रविधि १३३ देशमा पुर्याउँदै डब्ल्यूएचओ

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कम्तीमा १५ मिनेटभित्रै कोभिड–१९ को संक्रमण छ वा छैन भनी पत्ता लगाउने प्रविधि विश्वका १३३ वटा देशमा पुर्याउने भएको छ ।

न्यून र मध्यम आय भएका मुलुकमा कोरोना भाइरस पत्ता लगाउने कार्यक्षमतालाई उच्च रूपमा विस्तार गर्ने उद्देश्यका साथ यो प्रविधि ती देशहरुमा पुर्याउन लागिएको डब्ल्यूएचओले बताएको छ ।

स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा कोभिड–१९ पत्ता लगाउने प्रक्रियामा ५ डलर मात्र लागत पर्ने उक्त परीक्षण प्रविधिले सकारात्मक परिवर्तन ल्याउने विश्वास संगठनको छ ।

उत्पादकहरूसँगको एउटा सम्झौताअनुसार उनीहरूले ६ महिनाभित्र १२ करोड वटा त्यस्ता परीक्षण उपलब्ध गराउने बताइएको छ । डब्ल्यूएचओका प्रमुखले यो कोरोना भाइरस नियन्त्रणका लागि प्रमुख कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरेका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने ‘नयाँ, सजिलै बोकेर हिँड्न सकिने र प्रयोग गर्न सजिलो परीक्षणले कैयौँ घण्टा वा दिनको साटो १५ देखि ३० मिनेटभित्र नतिजा दिन्छ ।’

औषधि निर्माताहरू एब्बो र एसडी बायोसेन्सरले च्यारिटेबल संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका लागि १२ करोड परीक्षणहरू उत्पादन गर्न सहमत बनेको उनले बताए ।

सम्झौताले १३३ देशमा सहायता पुग्ने छ भने त्यसमा हाल महामारीले धेरै असर पारेका र मृत्यु भएका ल्याटिन अमेरिकी मुलुक पनि छन् ।