यसअघि कोरोना कहरकै बीचमा पनि उक्त गाउँपालिकाले पठनपाठनलाई नियमित गराउने प्रयास गरेको थियो । असार मसान्त बित्दासमेत कोरोनाको असर नघट्दा शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएपछि गाउँपालिकाले गत साउन ७ गतेदेखि भदौ ३ गतेसम्म गाउँटोलमै शिक्षक पठाएर पठनपाठनको गराएको थियो ।
दिनानुदिन कोरोना भाइरसको सङ्क्रमण बढिरहेको तथा स्वास्थ्य सङ्कट निम्तिने खतरालाई मध्यनजर गर्दै सिकाइ सहजीकरणलाई रोकेको गाउँपालिकाले पुनः पठनपाठनलाई नियमितरूपमा अघि बढाएको छ । विद्यालयले आफ्नो अनुकूलमा बिहान, दिउँसो वा बेलुका तालिका बनाएर पठनपाठनमा सहजीकरण गर्ने व्यवस्था मिलाएको छ ।
विद्यालयमा हुने भीडलाई नियन्त्रण गर्न जोरबिजोर रोल नम्बरका आधारमा विद्यार्थीलाई सिकाइ केन्द्रमा आउने व्यवस्था मिलाइएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणिकुमार गिरीले बताए । “भीडभाडलाई कम गर्न विद्यार्थीलाई कक्षामा भौतिक दूरी कायम गरेर राख्ने व्यवस्था मिलाइएको छ”, उनले भने, “विद्यालयमा आएका विद्यार्थीलाई एक बेञ्चमा एक जना वा बढीमा दुई जनालाई मात्र राख्ने व्यवस्था गरेर पठनपाठन शुरु गरिएको छ ।”
सात वडा रहेको उक्त गाउँपालिकाको ४८ विद्यालयमा पाँच हजार ५१२ जना विद्यार्थी हाल अध्ययनरत छन् । गाउँपालिकाको असोज ९ गते बसेको कार्यपालिकाको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार नियमित पठनपाठनलाई निरन्तरता गराउने निर्णय गरेको थियो ।
विद्यार्थीको सङ्ख्या बढी भएको अवस्थामा सम्भव भएसम्म गाउँमै सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन सञ्चालन गर्न भनिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए। “कोरोना भाइरसका कारण विद्यार्थीमा परेको मनोवैज्ञानिक असर न्यूनीकरण गर्दै शिक्षक–विद्यार्थीबीचको लामो ‘ग्याप’ कम गर्न गाउँपालिकाले सिकाइ सहजीकरणको विधि अपनाएको छ”, उनले भने, “शैक्षिक–सत्रको शुरुबाट पठनपाठन गर्न नसकिएकाले यसपल्टको वर्षे विदासमेत कटौती गरिएको छ ।”
दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि अवरुद्ध पठनपाठनलाई आ–आफ्नै तरिकाले सञ्चालन गर्ने तयारी गरिरहेका छन् । लामो समय विद्यालय बन्द हुँदा अधिकांश विद्यार्थीको पढ्ने बानी हटेको पाइएको छ । रासस
प्रतिक्रिया