बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

विधानसम्मत र निष्पक्ष महाधिवेशनका लागि रामचन्द्र पौडेल समूहले बुझायो ज्ञापनपत्र

दैनिक नेपाल २०७७ असोज १२ गते १५:०३

काठमाडौं, १२ असोज । विधानसम्मत र निष्पक्ष महाधिवेशनको माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुले केन्द्रीय पार्टी कार्यालयलाई सोमबार ज्ञापनपत्र बुझाएका छन् ।

नेता रामचन्द्र पौडेलसहित २७ जना नेताहरुले हस्ताक्षर गरी बुझाइएको उक्त ज्ञापनपत्रमा पार्टीको १४औं महाधिवेशन विधानसम्मत, स्वच्छ र निष्पक्ष हुनुपर्ने माग गरिएको छ । विधानतः ४ वर्षको कार्यकालभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था भए पनि सो अवधिमा महाधिवेशनको कुनै तयारी नभएकोप्रति आक्रोश व्यक्त गर्दै ती पदाधिकारी तथा सदस्यहरुले तोकिएकै समयमा महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।

‘हामीले समयावधि भित्रै महाधिवेशनको लागि निरन्तर आवाज उठायौं, तर सभापतिज्यूले यसबारे कुरै सुन्न चाहनु भएन’, ज्ञापनपत्रमा लेखिएको छ, ‘त्यसैले ती प्रयास निरर्थक भए । जब ४ वर्षको वैधानिक कार्यकाल सकियो, अनि कुनै त्यस्तो ‘असाधारण परिस्थिति’ को आधार नहुँदा नहुँदै कार्यकाल १ वर्ष बढाइयो । त्यसपछि मात्र महाधिवेशनको प्रक्रिया, त्यो पनि अत्यन्त सुस्त गतिमा प्रारम्भ गरिएको छ, तर समयमै निष्पक्ष ढंगबाट महाधिवेशन नगर्ने प्रपञ्च अझै जारी देखिन्छ ।’

निर्धारित मिति २०७७ फागुनभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रमुख दायित्व नेतृत्वकै भएको बताउँदै उनीहरुले नेतृत्वले गैरजिम्मेवारीपन नदेखाउन सचेत गराएका छन् । ‘मुलुक यतिबेला कोभिड—१९ अर्थात कोरोना महामारीको चपेटामा छ । प्रारम्भ देखिनै त्रासदीपूर्ण भविष्यको आँकलन गर्दै नेपाली कांग्रेस लगायत राजनीतिक दल, सञ्चार माध्यम, नागरिक समाज, विज्ञ र बुद्धिजीविहरुले सरकारलाई पूर्वसावधानीको खबरदारी समयमा नै गराएका थिए । तर, सरकारले कोरोना महामारीबाट देशलाई जोगाउन व्यवहारिक र वैज्ञानिक रणनीति अख्तियार गर्ने योग्यता र इमान्दारिता दुवै देखाएन’, ज्ञापनपत्रमा उल्लेख छ ।

पार्टी सञ्चालनका क्रममा भएका अवैधानिक गतिविधि तथा गलत प्रवृत्तिको विरोध गर्दै समायोजन र क्रियाशील सदस्यता, विभाग गठन, भ्रातृ एवं शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समिति, केन्द्रीय कार्यसमितिको बैठकलगायत विषयमा आफ्नो धारणा व्यक्त गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई उनीहरुले ज्ञापनपज्ञ बुझाएका हुन् ।

ज्ञापनपत्रमा रामचन्द्र पौडेल, डा. शशांक कोइराला, सीतादेवी यादव, प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, डा. मिनेन्द्र रिजाल, असुजाता कोइराला, दिलेन्दप्रसाद बडू, डा. शेखर कोइराला, दीपक गिरी, नविन्द्रराज जोशी र डा. चन्द्र भण्डारीले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गर्ने अन्य नेताहरुमा कमला पन्त, धनराज गुरुङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईं छन् ।

पौडेल समूहले आफूहरुले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी सभापतिलाई एक हप्ते अल्टिमेटम समेत ज्ञापनपत्रमार्फत दिएका छन् । असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकअगाडि सम्बोधन गर्ने तदारुकता नदेखाए विरोधका कार्यक्रम सुरु गर्ने चेतावनी पौडेल समूहले दिएको छ ।

समूहले विभाग गठन खारेज गर्नुपर्ने, समायोजन छिटो सक्नुपर्ने र केन्द्रले आफूखुशी क्रियाशील सदस्यता बाँड्न नहुनेलगायतका मुद्दा उठाउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित