मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

एक जनाले ३ किलोसम्म मात्रै प्याज किन्न पाउने, खाद्यको विक्री कक्षमा खरिदकर्ताको भीड

दैनिक नेपाल २०७७ असोज १२ गते १४:००

काठमाडौं, १२ असोज । प्रतिकिलो ६० रुपैयाँ दरमा एक जनाले ३ किलोसम्म मात्रै प्याज किन्न पाउने भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित विक्री कक्षमा खरिदकर्ताको भीड लागेको छ ।

खाद्य व्यवस्थाले उक्त विक्री कक्षबाट गत शुक्रबारदेखि उपभोक्तालाई प्रतिकेजी ६० रुपैयाँमै प्याज विक्रीवितरण गरिरहेको छ । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई विक्री गर्न लागेका प्याजलाई जफत गरी सर्वसाधारणलाई सो कक्षबाट प्याज विक्री गर्न थालेको हो ।

प्याज किन्नको लागि बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म समय तोकिएको छ । १ जनाले ३ किलोसम्म किन्न पाउने खाद्य व्यवस्थाले जानकारी दिएको छ ।

यसअघि बजार अनुगमनका क्रममा १४ हजार ६०० केजी प्याज सरकारले नियन्त्रणमा लिएको थियो। केही दिनअघि उपत्यकामा प्याजको मूल्य १२० रूपैयाँसम्म पुगेको थियो । प्याजको मूल्य चर्को रूपमा बढेपछि सरकारले अनुगमन गर्न सुरू गरेको थियो ।

हाल भारतले प्याजको निर्यात बन्द गरेसँगै नेपालमा भारतीय प्याज आयात ठप्प भएको छ । त्यसैको फाइदा उठाउँदै व्यापारीले आफूसँग भएका प्याज महँगो मूल्यमा विक्री गर्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित