शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

आत्मनिर्भर सेवा केन्द्रको २५औं वार्षिक साधारणसभा सम्पन्न

दैनिक नेपाल २०७७ असोज १२ गते १३:४५

काठमाडौं, १२ असोज । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको २५औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

संस्थाको कार्यालय भूमिघर धापासीमा आयोजना भएको कार्यक्रममा संस्थाले विभिन्न साझेदार संस्थाको सहयोगमा राष्ट्रिय भूमि अधिकार मञ्च र अन्य सहयात्री संस्थामार्फत समुदायसँग मिलेर आर्थिक वर्ष २०७६÷७७ मा गरेको काम र त्यसबाट प्राप्त उपलव्धीहरू र संस्थाले वर्षभरीमा गरेको आर्थिक विवरणहरू प्रस्तुती गरिएको थियो ।

आत्मनिर्भर केन्द्रले आर्थिक वर्ष २०७६÷७७ मा ४६ वटा जिल्लामा विभिन्न सवालगत अभियान सञ्चालन गरेको थियो भने ११ जिल्लाका १५ स्थानीय तहमा विशेष कार्यक्रम सञ्चालन गरिएको विवरण प्रस्तुतीकरण गरिएको थियो । भूमिहीन, सुकुम्बासीको पक्षमा कानून निर्माण गर्ने सन्दर्भमा स्थानीय, प्रादेशिक र सङ्घीय गरी तीनवटै सरकारसँग सहकार्य र समन्वय गरिएको जानकारी गराइएको थियो ।

२०४९ साल चैत १ गते सिन्धुपाल्चोकमा स्थापना भएको आत्मनिर्भर केन्द्रको यो २५औं वार्षिक साधारणसभा हो । संस्थाले हाल २७ वर्ष पूरा गरेको छ । वार्षिक साधारण सभामा संस्थाका साधारण सदस्य, कार्यसमिति पदाधिकारीहरू, संस्थाका कर्मचारीहरू र सहयोगीहरू सहित २६ जना प्रत्यक्ष र १८ जना अनलाइनबाट सहभागी भएका थिए ।

आत्मनिर्भर केन्द्र २०४८ सालमा स्थापना भएपछि २०५१ सालसम्म सिन्धुपाल्चोकको विभिन्न गाविसमा अनौपचारिक प्रौढ शिक्षा कक्षा, केही विकास निर्माण काम र रिफ्लेक्ट कक्षा सञ्चालन गर्दै अघि बढेको थियो । केन्द्रले २०५१ सालपछि भने एउटै सवाल ‘भूमि–कृषि अभियान’ मा काम गर्दै आएको छ । जुन निरन्तर छ । संस्थाले समतामुलक समृद्धिका लागि भूमिसुधार अभियानलाई प्राथमिकतामा राखी अघि बढीरहेको छ ।

साधारणसभामा प्रगती प्रतिवेदन संस्थाका सदस्य सचिव हरिप्रसाद पुडासैनीले प्रस्तुती गरेका थिए भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष सरस्वती कटुवालले गरेका थिए । साधारणसभाको सञ्चालन संस्थाका कार्यसमिति सदस्य मानबहादुर क्षेत्रीले गरेका थिए ।

उपस्थित साधारण सदस्य, पदाधिकारी, शुभचिन्तक र कर्मचारीहरूलाई संस्थाका कार्य समिति उपाध्यक्ष उमा अर्यालले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए ।

साधारणसभा कार्यक्रम प्रमुख अतिथिका रुपमा सहभागी हुनु भएका राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहाल भर्चुअल माध्यम ‘जुम एप’ मार्फत सहभागी भएकी थिइन् । कार्यक्रमको उद्घाटन आत्मनिर्भर केन्द्र अध्यक्ष गोपाल थापा मगरलगायत उपस्थित व्यक्तित्वहरूले २५ वटा बत्ती बालेर गरेका थिए ।

कार्यक्रममा सहभागी राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले नेपालको भूमि कृषि अभियानमा आत्मनिर्भर केन्द्रको योगदान महत्वपूर्ण रहेको बताइन् । ‘यही संस्थाले उठान गर्दै आएको मुद्दा, आन्दोलन र अभियानको बलले पनि नेपालको संविधान लगायत विभिन्न ऐन कानूनमा भूमिसम्बन्धी विषयवस्तुहरू समेटिएका छन् । कतिपय विधेयकहरू आउने क्रममा पनि छन् । यो एक अवसर पनि हो त्यसैले अबको दिनमा यी बनेका कानूनहरूलाई सफल कार्यान्वयनमा लान सकिने गरी अभियान गर्नुपर्छ’, उनले भनिन् ।

प्रतिक्रिया
सम्बन्धित