३१ आश्विन २०८३, शनिबार

थप ९ प्रकारका ह्यान्ड स्यानिटाइजरमा खराब रसायन भेटियो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । बजारमा प्रयोग हुँदै आएका थप ९ प्रकारका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई असर गर्ने रसायन मिसाइएको भेटिएको छ ।

स्वास्थ्यमा प्रतिकुल असर पार्ने भन्दै औषधि व्यवस्था ती स्यानिटाइजर प्रयोग नगर्न आग्रह समेत गरेको छ । विक्रीवितरणका लागि राखिएका विभिन्न कम्पनीका ह्यान्ड स्यानिटाइजरको परीक्षणका क्रममा थप ९ प्रकारका स्यानिटाइजरमा रसायन मिसाइएको पाइएकाले प्रयोग नगर्न विभागले सूचनामार्फत आग्रह गरेको हो ।​

विभागका अनुसार ओम आरोग्य हेल्थ केयर प्राइभेट लिमिटेड इमाडोल ललितपुर, कुमकुम हर्बल इन्ड्रस्टिज प्राइभेट लिमिटेड बनेपा काभ्रे, साधना सप्लायर्स काठमाडौं, कालिका सप एन्ड केमिकल प्राइभेट लिमिटेड काठमाडौं लगायतले उत्पादन गरेका ९ प्रकारका ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न विभागले आग्रह गरेको छ ।

रसायनको प्रयोगले वाकवाक लाग्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने तथा आँखाको दृष्टि नै गुम्न सक्ने खतरा हुने चिकित्सकहरु बताउँछन् । यसअघि पनि विभागले विभिन्न ९ वटा कम्पनीका ह्यान्ड स्यानिटाइजरमा रसायन भेटेपछि उत्पादन र प्रयोगमा रोक लगाइसकेको छ ।

यसअघि विभागले चिनियाँ कम्पनीले उत्पादन गरेको ओपेकल नन्वासिङ एन्टिब्याक्टेरियल सोलुसन, सम्पदा हेल्थ केयर ललितपुरबाट उत्पादित सासा इस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, आरएल क्रप भारतले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, श्रीनाथ हर्बल कस्मेटिक इण्डष्ट्री काठमाडौंले उत्पादन गरेको युनिकेयर इन्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर, हाइजिन सोप एन्ड केमिकल प्राली काठमाडौंको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एड्भान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रोडक्टको इन्सट्यान्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरलाई प्रतिबन्ध लगाइसकेको छ ।