बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

पूर्वराज्यमन्त्री खड्काको गाडीले ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

घटना लुकाउन अज्ञात मोटरसाइकलको खोजी गर्दै प्रहरी !

दैनिक नेपाल २०७७ असोज ११ गते १५:०३

काठमाडौं, ११ असोज । नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री दीपक खड्काले हाँकेको बा ११ प ४१४१ नम्बरको प्राडो कारले ठक्कर दिँदा जेब्रा क्रसिङबाट बाटो काटिरहेकी एक महिलाको मृत्यु भएको छ ।

कारको ठक्करबाट घाइते ती महिलाको अस्पताल नपुर्याउँदै मृत्यु भयो भने गम्भीर घाइते भएका उनकाका श्रीमान्को उपचार भइरहेको छ । पूर्वमन्त्री खड्का आफैले हाँकेको उक्त कारको ठक्करबाट बुढानिलकण्ठ नगरपालिका–६ का विक्रम कार्की र उनकी श्रीमती अनुपा पाण्डे कार्कीलाई गत बुधबार ठक्कर दिएको प्रहरीले बताएको छ ।

उक्त दिन दिउँसो १२ बजेको समयमा भएको घटनाका दोषीलाई कारबाहीबाट उन्मुक्ति दिन चलखेल भइरहेको पीडितका आफन्तको गुनासो छ । मन्त्री खड्कालाई घटनाबाट उन्मुक्ति दिन कार्की दम्पतीलाई मोटरसाइकलले ठक्कर दिएर भागेको भन्ने कागजात बनाउन प्रहरी आफै लागेको बताइएको छ ।

तर, प्रत्यक्षदर्शीले भने उक्त कारले ठक्कर दिएर भागेको र पछि प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् । प्रत्यक्षदर्शीमध्येका केहीले घाइतेलाई अस्पताल लगेका थिए । तर अनुपालाई भने बचाउन नसकेको उनीहरुको भनाइ छ ।

हाल मृतक अनुपाको शव त्रिवि शिक्षण अस्पतालमै रहेको छ भने खड्काका विरूद्ध घाइते अवस्थामा रहेका उनका पतिले महानगरीय प्रहरी वृत महाराजगञ्जमा किटानी जाहेरी दिएका छन । तर, प्रहरीले भने ती दम्पतीलाई ठक्कर दिने मोटरसाइकललको खोजी भइरहेको बताएको पीडितका आफन्तहरुले बताएका छन् ।

प्रहरी स्रोतका अनुसार भने मन्त्री खड्काको गाडीले ठक्कर दिएको नभई अज्ञात मोटरसाइकलले ठक्कर दिएर भागेको र मृतक महिला उक्त कारमा ठोक्किएर थप घाइते भएको बताइन्छ । खड्का आफैले गाडी हाँकेको बताइए पनि उनका चालक र गाडी भने हाल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । तर, गाडी कसले हाँकेका थिए भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

पीडितहरुले भने मन्त्री खड्कालाई घटनाबाट उन्मुक्ति दिने प्रयास भइरहेको आरोप लगाउँदै मृतकको पोस्टमार्टम समेत गर्न दिएका छैनन् । खड्काकै गाडीले ठक्कर दिएको दाबी गर्दै पीडितका आफन्तले अज्ञात मोटरसाइकलको खोजी गरिनु घटना सामसुम पोर्न प्रपञ्च भएको जिकिर गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित