![]()
काठमाडौं, ८ असोज । नेपाली कांग्रेसले स्याङ्जालगायत देशका विभिन्न जिल्लामा आएको बाढी तथा पहिरोले जनधनको क्षति पुर्याएकोप्रति दुःख व्यक्त गरेको छ ।
बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले सहानुभूति प्रकट गरेको हो । ‘अविरल वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान खसेको पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु र १ जना वेपत्ता भएका छन्’, विज्ञप्तिमा लेखिएको छ, ‘स्याङ्जाकै कालीगण्डकी गाउँपालिका–४ मा १ जनाको मृत्यु, पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले घर पुरिंदा ५ जना वेपत्ता र कपिलवस्तुको बनगाई–डोहोट सडकखण्ड अन्तर्गत कोइली खोलामा पजेरो जीप खोलाले बगाउँदा १ जनाको मृत्यु र १ जना वेपत्ता भएको घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति सहानुभूति प्रकट गर्दछ ।’
पहिरोमा परी जीवन गुमाएका सबैप्रति नेपाली कांग्रेसले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गरेको छ ।
घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कांग्रेसले विज्ञप्तिमा लेखेको छ, ‘बेपत्ताहरुको खोजी कार्यलाई तीव्रता दिन, पीडित परिवारहरुलाई राहत र स्वास्थ्योपचारको तत्काल व्यवस्था गर्न सरकारसँग नेपाली कांग्रेस माग गर्दछ ।’















प्रतिक्रिया