
काठमाडौं, ८ असोज । नेपाली कांग्रेसले चीनद्वारा नेपाली भूमि मिचिएकोबारे सरकारले हतारमा टिप्पणी गरेको आरोप लगाएको छ ।
सम्बन्धित क्षेत्रको स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले धारणा सार्वजनिक गरेकोप्रति कांग्रेसको ध्यानाकर्षण भएको हो । हुम्ला जिल्लास्थित नेपाल र चीनको सीमासम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्पष्ट भएपछि मात्रै सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने कांग्रेसको भनाइ छ ।
बिहीबार कांग्रेसको सूचना, सञ्चार तथा प्रचा विभा प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक प्रेस विज्ञप्ति जारी सरकारको धारणाप्रति आपत्ति जनाएको हो ।
‘सरकारको जिल्लास्थित संरचनाको नेतृत्वमा रहेका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन’, विज्ञप्तिमा लेखिएको छ, ‘अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्ष पछि सीमा मिचिएको हो÷होइन भन्नेबारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का राखेन ।’
नेपाली कांग्रेस पार्टीका तर्फबाट केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लामै रहेर स्थानीय वास्तविकताबारे वस्तुगत अध्ययनकै क्रममा रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
सीमासम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यम समेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने कांग्रेसको बुझाइ छ । बिहीबार साँझसम्म स्थलगत अध्ययन टोली सीमाबाट हुम्लाको सदरमुकाम फर्किएपश्चात् सीमा मिचिएको ठहर भए चीन सरकारसमक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रिया मार्फत् समाधानमा पुग्न सरकारलाई प्रतिपक्षी दलले सचेत समेत गराएको छ ।
स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको कांग्रेसको ठहर छ ।















प्रतिक्रिया