
काठमाडौं, ५ असोज । नेपाल आयल निगमले व्यवसाय विविधीकरण गर्नका लागि भन्दै ४ वर्षदेखि रोकिएको फर्नेस आयलको विक्री पुनः खुला गर्न लागेको छ ।
बजारमा यस्तो तेलको माग बढ्न थालेको र कारोबारलाई व्यवस्थित गर्ने भन्दै निगमले अब निजी क्षेत्रलाई फर्नेस आयल ल्याउन अनुमति दिने भएको छ । अनुमति पाएपछि निजी क्षेत्रले आयात तथा विक्री गर्न पाउने छन् ।
निगमका अनुसार अब निगमले निजी क्षेत्रलाई खरिद आदेश (पीडीओ) दिने छ । निगमको नयाँ व्यवस्थापछि यसको कारोबार गर्दै आएका व्यवसायीहरूले स्वतस्फूर्त खरिद विक्री गर्न भने पाउने छैनन् । उनीहरूले यस्तो आयलको कारोबार गर्न निगमको अनुमति अनिवार्य लिनुपर्ने छ ।
यो व्यवस्थाले निगमको एकाधिकार कायम हुनाका साथै कारोबार व्यवस्थित हुने अपेक्षा निगमको छ । निगमका अनुसार व्यवसायीले भारतको हल्दिया रिफाइनरी डिपोबाट आयल ल्याउन सक्ने छन् । साथै भारतकै मथुरा रिफाइनरी पीडिओ जारी गर्ने निगमले जानकारी दिएको छ ।
फर्नेस आयल खरिदका लागि अनुमति प्रदान गर्न निगमले प्रदेश नं. १ को बिराटनगर, प्रदेश नं. २ को अमलेखगञ्ज र निगमको केन्द्रीय कार्यालय काठमाडौंलाई तोकेको छ । नेपालमा यो तेल औद्योगिक प्रयोजनका लागि प्रयोग गरिँदै आएको छ ।
फर्नेस आयल डिजेलको तुलनामा निकै सस्तो हुन्छ । अहिले डिजेलको कारोबार प्रतिलिटर ९० रुपैयाँमा भइरहेको छ भने फर्नेस आयल प्रतिलिटर ६० रुपैयाँसम्ममा विक्री हुने निगमको भनाइ छ ।
निगले फर्नेस तेलको मूल्य प्रति टन ५३ हजार ८३६ रुपैयाँ निर्धारण गरेको छ । फर्नेस आयलको उच्चतम प्रयोगकर्ता नेपाल विद्युत् प्राधिकरण अन्तर्गतको मल्टी फ्युल पावर प्लान्ट बन्द भइ माग घटेपछि निगमले यसको बिक्री बितरण रोकेको थियो ।















प्रतिक्रिया