शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

कपिलवस्तुको शिवपुरमा सुविधा सम्पन्न होटल सन्चालन

दैनिक नेपाल २०७७ भदौ १७ गते ८:११

चन्द्रौटा, १७ भदौ । स्वास्थ्य मापदण्ड अपनाउँदै कपिलवस्तुको शिवराज १, शिवपुरमा नयाँ व्यवस्थापनका साथ सुविधा सम्पन्न होटल संचालनमा आएको छ । पर्यटन प्रवद्र्धनलाई लक्षित गरी स्थानीय विनोद कुँवरले ‘होटल औरोरा’ नामक सुविधासम्पन्न होटल संचालन गरेका हुन् ।

चन्द्रौटा चोकदेखि ५ किलोमिटर पश्चिम शिवराज १, बेलौती(शिवपुर)मा क्याम्पस जाने बाटोनजिकै मुख्य राजमार्गसँग जोडिएको तीन तल्ले आकर्षक भवन निर्माण गरी होटल संचालन गरेका छन् ।

गत आइतबार बिहान स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै होटल उद्घाटनको शुभ साइत गरेको संचालक बिनोद कुँवरले जानकारी दिए । कुँवरकै बुवा जेष्ठ नागरिक ८७ वर्षे हेम बहादुर कुँवर र प्रदेश सांसद अर्जुन कुमार के.सी.ले संयुक्त रुपमा रिबन काटेर होटलको शुभारम्भ गरे ।

उद्घाटन समारोहमा अर्का प्रदेश सांसद विष्णु पन्थी, शिवराज नगरपालिककाका मेयर नेत्रराज अधिकारी, व्यापार संघका अध्यक्ष महादेव पोखरेल, रोटरी क्लबका चार्टर प्रेसिडेन्ट टोपलाल पोखरेल लगायतको उपस्थिति थियो । शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले होटल संचालक कुँवरलाई बधाई दिँदै शिवराज नगरपालिकामा स्तरीय होटल संचालनले समग्र नगरको आर्थिक विकासमा टेवा पुग्ने र कृषि उत्पादन खपत भई कृषकलाई समेत फाईदा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थीले शिवराज नगरपालिका व्यापारिक दृष्टिकोणले महत्पूर्ण भएपनि चन्दौटा क्षेत्र बाहेक हाईवेमा सुविधा सम्पन्न होटल नहुँदा सवारी तथा यात्रुले खान बस्नका लागि दुःख भोग्नुपर्ने समस्यालाई केही मात्रामा हल हुने विश्वास व्यक्त गरे ।

कपिलवस्तु क्षेत्र न ३ का सांसद अर्जुन कुमार के.सी ले यस क्षेत्रको विकासमा होटल व्यवसायको ठूलो योगदान रहेको स्मरण गर्दै होटल संचालकले गुणस्तरीयतामा विशेष ध्यान दिन आग्रह गरे । होटल रहेको स्थानबाट झण्डै डेढ किलोमिटर उत्तरपश्चिममा उमरी गुफा रहेको उल्लेख गर्दै सांसद के.सी.ले शिवराजका महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल धानखोला मन्दिर, शिवगढी मन्दिर, सोनवागढ मन्दिरको समेत अवलोकन भ्रमणमा थप टेवा पुग्ने बताए ।

व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले देश संघीयतामा गएसंगै यस क्षेत्रको विकासले फड्को मारेको बताए । कृष्णानगर–चन्दौटा सडकखण्ड निर्माणसंगै यस क्षेत्रको कायापलट हुनेमा आफू आशावादी रहेको उनले विश्वास व्यक्त गरे । शिवराज नगरपालिका औद्योगिक र पर्यटनको ठूलो हबको रुपमा अगाडि बढेको उनले बताए । यस क्षेत्र औद्योगिक करिडोर भएपनि रात्रि बस्न, शान्त माहोल नभएकोले शिवपुर क्षेत्र होटल व्यवसायको राम्रो सम्भावना बोकेको स्थल रहेको दाबी गरे । शिवपुर क्षेत्र चुरे पहाडको फेदमा अवस्थित भएकाले चिसो हावापानी र मनोरम दृष्य अवलोकन गर्न मिल्ने उनले विश्वास व्यक्त गरे ।

होटल संचालक बिनोद कुँवरले पर्यटन प्रवद्र्धनलाई लक्षित गरी आफ्नै जग्गामा झण्डै दुई करोड लगानी गरी होटल संचालन शुरु गरिएको जानकारी दिए । नयाँ व्यवस्थापनका साथ संचालन गरिएको होटलमा तालिम हल, प्रयाप्त पार्किङ, एटेच टवाईलेट बाथरुम, एसी जडित कोठा र अनुभवी तथा दक्ष कुकको व्यवस्था रहेको कुँवरले बताए । सेवाग्राहीको चाहना अनुसार नेपाली, थकाली खानाको व्यवस्थाका साथै इन्डियन, चाइनिज, कन्टिनेन्टल खाना सहितको सेवा दिने संचालक कुँवरले जनाए ।

लामो समय मेरी स्टोभ्समा कार्य गरी स्वास्थ्य क्षेत्रमा अनुभव सँगालेका कुँवर आफ्नै व्यवसाय संचालन गरी सामाजिक कार्यमा जुटेका छन् । जागिरे जीवनबाट अवकास लिएका कुँवरले समाजसेवामा आफ्ने जीवन बिताउने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित