
काठमाडौँ, १३ भदौ । त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा दसैँ पछाडी मात्रै सञ्चालन गर्ने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएको भन्दै दसैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको जानकारी दिए ।
पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि लकडाउन खुलेसँगै भदौको दोस्रो हप्तादेखि परीक्षा गर्ने त्रिविले तयारी गरेको थियो । ‘अहिलेको स्थितिमा दसैं अगाडि कुनै पनि परीक्षा गर्न सहज छैन’, उनले भने ’अब वार्षिक अन्तर्गतका सबै परीक्षा दसैंपछि नै हुन्छन् ।’
उनका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने गरी तयारी गरिनेछ । पनिकाले मङ्सिर २० देखि परीक्षा सञ्चालन गरेर चैतसम्म सबै सकाउने तयारी गरेको छ ।
नियन्त्रक जोशीले चैतसम्म सबै बाँकी रहेका परीक्षा सकाएपछि शैक्षिक क्यालेन्डरमा कुनै असर नपर्ने जानकारी दिए । चारवर्षे शैक्षिक कार्यक्रमलाई ४८ महिनामा सकाउने लक्ष्य पनिकाको रहेको छ । अहिले ती चारवर्षे शैक्षिक कार्यक्रम ४५ देखि ४६ महिनामा सकिने गरेका छन् ।
त्यस्तै, पनिकाले धेरै विद्यार्थीहरुको हकमा भर्चुअल परीक्षा सम्भव नहुने बताएको छ । परीक्षा नियन्त्रक जोशीले सेमेष्टर प्रणाली परीक्षाको खाका सहितको प्रतिवेदन सम्बन्धित डिन कार्यालयले बुझाएपछि कसरी परीक्षा गर्ने भन्नेबारे छलफल हुने बताए ।
‘सेमेष्टर परीक्षाका बारेमा भर्चुअल माध्यमबाट परीक्षा लिने भन्ने कुरा पनि चलेको छ’, उनले भने ’तर कति सम्भव हुन्छ डिन कार्यालयले बुझाएको प्रतिवेदन बुझाएपछि गर्ने वा नगर्ने भन्ने हुन्छ ।’ उनले सेमेष्टर प्रणालीका पनि धेरै विद्यार्थी भएको तहमा भर्चुअल माध्यमबाट परीक्षा सम्भव नभएको बताए ।















प्रतिक्रिया