६ कार्तिक २०८३, शुक्रबार

आफ्नै सालालाई अपहरण गरी १० लाख फिरौती माग्ने पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १२ भदौ । आफ्नै १३ वर्षीय सालो अपहरण गरेर १० लाख रुपैयाँ फिरौती माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बाँके प्रहरीले अपहरणमा परेका बालकको ३ दिनपछि सकुशल उद्धार गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुरका २७ वर्षका कल्लु भन्ने कलिम खाँले भदौ ९ गते खजुरा गाउँपालिका ५ रजनवा गाउँका १३ वर्षका आफ्नै सालो इसहाक जाकिर भन्ने इन्तजार खाँलाई अपहरण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओमबहादुर रानाका अनुसार बाँके जिल्ला खजुरा ५ को रजनवा गाउँमा मोहर्रमको रमाइलो हेर्न गएको बेला बालकलाई अपहरण गरी जयसपुरस्थित आफ्नै घरमा बन्धक बनाएका थिए ।

अपहरण गरेर फिरौती मागेको एसपी रानाले प्रष्ट पारे । ‘बालकलाई बन्धक बनाएर हिन्दी भाषा प्रयोग गरी पीडितकोे परिवारसँग १० लाख रुपैयाँ फिरौती मागेको खबर पाएपछि हामीले खजुरा गाउँपालिकाको धनौलीबाट अभियुक्तलाई पक्राउ गर्न सफल भयौँ । ११ भदौमा जानकी गाउँपालिका ५ बुढिया गाउँमा पीडित बालकको फुपुको घरमा लगेर छोडेको अवस्थामा फेला पारेर उद्दार गर्यौँ ।’

प्रहरीले अभियुक्त खाँबाट अपहरण गर्न प्रयोग भएको भे ४ प २३४४ नम्बरको सुजुकी कम्पनीको मोटरसाइकल एउटा र फिरौती माग्न प्रयोग भएको मोबाइल एक थान बरामद गरेको जनाएको छ ।

‘पीडित बालकको परिवारले १० भदौमा जग्गा किन्नका लागि ४ लाख ८५ हजार रुपैयाँ जम्मा गरेको थाहा पाएपछि पैंसाकै लागि अपहरण गरेको देखिन्छ’, एसपी रानाले भने, ‘बालक अपहरणका २४ घण्टापछि मात्र प्रहरीमा खबर आयो । प्रहरीले खोजतलास जारी राखेको थाहा पाएपछि बालकलाई फुपुको घरमा लगेर छोडेको प्रहरीले जनाएको छ ।