
काठमाडौँ, ११ भदौ । काठमाडौँमा ८ हजार आइसोलेसन बेड तयार गरिएको छ ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजनमा भाद्र ९ गते नेपाल सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले काठमाडौँमा आइसोलेसन केन्द्र तयार गर्ने निर्णय गरेको थियो ।
उक्त बैठकले तिन दिनको समय सिमा निर्धारण गरेर ६ हजार बेड तयार गर्नका लागि उचित स्थान छनौट गरि कोरोना संक्रमितहरुलाई राख्ने सुरक्षित र सुविधा सम्पन्न आइसोलेसन केन्द्र स्थापनाका लागि नेकपा केन्द्रीय सदस्य तथा सांसद कृष्ण राई, नेकपा केन्द्रीय सदस्य तथा काठमाडौँ महानगर इन्चार्ज सांसद जीवनराम श्रेष्ठ, बागमती प्रदेस सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीलाई जिम्मेवारी दिएको थियो ।
सो समितिको भाद्र ११ गते बसेको बैठकमा दुई दिनमा विभिन्न व्यवसायी, अस्पताल र अन्य क्षेत्रमा अध्ययन गरेर करिव ८ हजार आइसोलेसन बेड संचालन गर्ने तयारी पुरा गरिएको जानकारी दिइएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न स्थानमा स्वास्थ्य सुविधा र सुरक्षा मापदण्ड सहित कोरोना संक्रमितहरुको व्यवस्थापन गर्नका लागि आइसोलेसन केन्द्र तयार गरिएको बागमती प्रदेशका प्रदेशसभा सदस्य दिपक निरौलाले बताएका छन् ।
कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि तयार पारिएका आइसोलेसन केन्द्रको भाद्र १३ गते बाट औपचारिक शुरुवात गर्ने जानकारी दिँदै निरौलाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका स्थानीय तहले बजेट माग गरेमा प्रदेस सरकारले उपलव्ध गराउने बताएका छन् ।
स्वास्थ्य मन्त्रालयमा भएको सो समितिको बैठकले उपत्यकामा लक्षण रहित संक्रमितलाई आइसोलेसन केन्द्रमा र जटिल अवस्थाका संक्रमितलाई अस्पतालमा राख्ने व्यवस्था मिलाउनका लागि विभिन्न सम्भावित स्थानको सुची तयार पारेर सम्झौताको तयारी गरेको छ ।
बागमती प्रदेस सरकारले संचालन गर्ने ति आइसोलेसन केन्द्रलाई स्वास्थ्यकर्मी र सुरक्षा प्रवन्ध संघीय सरकारले मिलाउने छ भने संक्रमितहरुको सम्पर्क , सुचना र अन्य व्यवस्थापन स्थानीय सरकारले गर्नेछ ।















प्रतिक्रिया