
काठमाडौँ, ८ भदौ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहले भदौ १५ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्ने भएका छन् ।
सोमबार बसेको नगरपालिका फोरमको बैठकले पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमणलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।
बैठकले यसअघि भदौ गतेसम्म भनिएकोमा भदौ १५ गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङको दायरा फराकिलो बनाउने निर्णय गरेको छ । बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रलायसँगको समन्वयमा परीक्षणको दायरा बढाउने निर्णय गरेको हो ।
उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्वास्थ्य मन्त्रालयको टोलीसहित मङ्गलबारदेखि नै उपत्यकाका पालिकामा तालिका बनाएरै कन्ट्याक्ट ट्रेसिङ र परीक्षण अघि बढाइने जानकारी दिए ।
अहिलेसम्म उपत्यकाका पालिकाको तथ्याङ्कानुसार २ हजार ७ सय ४६ संक्रमित भेटिएकाले करीब २८ हजार पाँच सय जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने तयारी रहेको प्रमुख शाक्यले बताए ।
बैठकले ढिलोमा भदौ १५ गतेसम्म अनुमानित सबैको परीक्षण सक्ने गरी तालिका बनाएर अघि बढ्ने निर्णय गर्दै सङ्क्रमणबाट सकेसम्म बच्नका लागि सबै नागरिकलाई आग्रह गरेको छ ।
बैठकमा सहभागी स्वास्थ्यमन्त्रीका जनस्वास्थ्य सल्लाहकार डा खेम कार्कीले कोरोनाविरुद्धको युद्धमा एक जुट नहुने हो भने कोरोनाले जित्ने बताए ।
‘काठमाडौँभित्र कम्तीमा १५ हजार सङ्क्रमित रहेको हुन सक्ने अनुमान छ’, उनले भने ‘हामीले त्यो घेरा तोड्न सकेनौँ भने अवस्था भयावह हुन सक्छ । त्यसैले २४ सै घण्टा कोरोना नियन्त्रणमा लाग्नुपर्छ ।’
कोरोना महहामारी नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिङ, परीक्षण र आइसोलेशन गर्ने विधिलाई प्राथमिकता दिनुपर्ने बैठकमा सहभागीको माग थियो।
स्वाथ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले आवश्यक जनशक्ति व्यवस्थापनमा विभाग तयार रहेको स्पष्ट पारे। विभागका डा अमित पोखरेलले तत्काल कन्ट्याक्ट ट्रेसिङबाट परीक्षण गर्न सकियो भने ८५ प्रतिशत सुरक्षित हुने बताए ।















प्रतिक्रिया