३० आश्विन २०८३, शुक्रबार

कोरोना संक्रमणबाट कांग्रेस उपसभापतिसहित थप ४ जनाको मृत्यु, मृतकका परिवारलाई नै संक्रमण

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । कोरोना संक्रमणबाट मंगलर दिउँसोसम्म थप ४ जनाको मृत्यु भएको छ ।

संक्रमणबाट पाटन अस्पतालमा १ जना, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा २ जना र काभ्रेको धुलिखेल अस्पतालमा १ जनाको ज्यान गएको हो । पोखरामा मृत्यु हुने एकजना पोखराकै र एकजना तनहुँका हुन् ।

पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको हो । गत साउन ३२ गते उच्च ज्वरो तथा स्वासप्रस्वासमा समस्या भएर अस्पतालको इमर्जेन्सी कक्षमा उपचारका लागि आएका थिए । कोरोना पुष्टि भएपछि उनलाई सोमबार अस्पतालको कोभिड उपचार केन्द्रमा राखी उपचार भइरहेको थियो । ती पुुरुषमा कोरोनासहित मधुमेह, प्रेसरलगायतका रोगको समस्या रहेको पाइएको छ ।

त्यसैगरी तनहुँको व्यास नगरपालिका–१ का ५० वर्षीया महिलाको पोखरास्थित कास्की सेवा हस्पिटलमा उपचारको क्रममा गएराति ११ः३५ बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

हेपाटाइटिस, निमोनिया, सुगर, प्रेसर तथा मुटुको समस्याले गत साउन ३१ गते अस्पताल भर्ना भएकी उनको सोमबार बिहान पीसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा राति ९ बजे नतिजा पोजिटिभ आएको थियो । त्यसअघि दमौलीमा सामान्य उपचारपछि उनलाई पोखरा रेफर गरिएकामा आइसीयूमा राखेर उपचार भइरहेको थियो ।

यस्तै नेपाली कांग्रेस नवलपरासीका उपसभापति सुवासचन्द्र गिरीको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । पाटन अस्पताल ललितपुरमा उपचार गराइरहेका ३८ वर्षीय गिरीको मंगलबार बिहान ६ बजे मृत्यु भएको कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद देवेन्द्रराज कँडेलले जानकारी दिए ।

कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते गिरीलाई पाटन अस्पताल ल्याइएको थियो । गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । उनलाई मंगलबार राति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको थियो । गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो ।

यसैगरी काभ्रेको धुलिखेल अस्पतालमा पनि एक जना कोरोना संक्रमतिको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–७ घर भएका ९८ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको हो । साउन २७ गते कोरोना संक्रमण पुष्टि भएका ती वृद्ध पिसाब बन्द हुने समस्याले अस्पताल पुगेका थिए ।

९८ बर्षीय वृद्धको परिवार नै संक्रमित

धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका ९८ वर्षीय कोरोना संक्रमितको पुरै परिवारमा कोरोना संक्रमण देखिएको छ । काठमाडौंको बानेश्वर बस्दै आएका ती ९८ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएपछि परिवारका ७ जनाको नै कोरोना परीक्षण गर्दा पोजेटिभ रिजल्ट आएको होे ।

त्यसैगरी धुलिखेल अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारी ६ जनामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।