काठमाडौं । भारत सरकारले वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ। उनले नवीन श्रीवास्तवको स्थानमा काठमाडौंस्थित भारतीय दूतावासको नेतृत्व सम्हाल्नेछन्।
भारतको विदेश मन्त्रालयका अनुसार दलेलाले यसअघि विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा काम गर्दै आएका थिए। उनी सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतसमेत रहिसकेका छन्। सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाको कूटनीतिक करिअर तेल अभिभबाट सुरु भएको हो।
त्यसपछि उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका छन्। नेपालसँग सम्बन्धित विषयमा पनि दलेलासँग प्रत्यक्ष अनुभव छ। उनले सन् २००६–०७ मा विदेश मन्त्रालयको ‘नर्थ डिभिजन’मा निर्देशक र सन् २०१६ देखि २०१९ सम्म सोही डिभिजनमा संयुक्त सचिवका रूपमा काम गरेका थिए। उक्त अवधिमा नेपाल र भुटानसँगको भारतीय सम्बन्ध हेर्ने जिम्मेवारी उनको मातहत थियो।
त्यस्तै, दलेलाले सन् २००९ देखि २०११ सम्म भारतीय प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गरेका थिए। त्यहाँ उनले दक्षिण एसियाली छिमेकीसहित पूर्वी एसिया, इन्डो–प्यासिफिक, खाडी, मध्यपूर्व र अफ्रिकी मुलुकसँगको सम्बन्धसम्बन्धी विषय हेरेका थिए। आर्थिक कूटनीतिमा समेत अनुभव हासिल गरेका दलेला भारतको विश्व व्यापार संगठनस्थित स्थायी नियोगमा दुईपटक कार्यरत भएका थिए।
उनी सन् २०१४ देखि २०१६ सम्म डब्लूटीओका लागि भारतका उपस्थायी प्रतिनिधिसमेत थिए। हालैसम्म आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत दलेलाले भारतको आर्थिक कूटनीति, ग्लोबल साउथसँगको विकास साझेदारी, अफ्रिकासँगको सहकार्य र बहुपक्षीय आर्थिक सम्बन्ध हेर्दै आएका थिए। उनी ब्रिक्स, आईबीएसए र आईटूयूटूका लागि भारतका ‘शेर्पा’समेत हुन्।
दलेलाको नियुक्तिलाई नेपाल–भारत सम्बन्धका दृष्टिले पनि अर्थपूर्ण मानिएको छ।















प्रतिक्रिया