
काठमाडौं, ३० साउन । पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि छलफल हुँदै छ ।
यसअघि बिहीबार भएको केपी ओली र प्रचण्डबीचको वार्ता सकारात्मक बनेकाले आज पनि छलफल गर्ने र पार्टीभित्रको विवाद मिलाउने प्रयत्न गरिने बताइएको छ ।
बिहीबारको छलफलमा महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मालोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु परिवर्तनलगायत विषयमा छलफल भएको बताइएको छ ।
ओली र दाहालबीच साउन २० मा बालुवाटारमा छलफल भएयता कुनै संवाद हुन सकेको थिएन । तर, दोस्रो तहका नेता भने संवाद खुलाउने प्रयासमा लागिरहेका थिए ।
स्थायी कमिटी बैठकमा प्रचण्डसहितका नेताहरुले ओलीको राजीनामा माग गरेका थिए । ओली राजीनामा नदिने अडानमा छन् । पार्टी विभाजन हुन लागेको भन्दै दोस्रो र तेस्रो तहका नेताहरुले खबरदारी गरिरहेका छन् ।
यसअघि तिक्ततापूर्ण सम्बन्धमा पुगेका अध्यक्षद्वय अकस्मात छलफलमा जुट्नु, बुधबार एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले ५–७ दिनभित्रै पार्टीको विवाद अन्त्य भएको सिनारियो दिने बचनबद्धता व्यक्त गर्नु, सञ्चारकर्मीलाई काउन्टडाउन शुरु गर्न सुझाव दिनुलगायत अभिव्यक्तिहरुका कारण पनि अब नेकपाको विवाद समाधानतिर मोडिएको अनुमान गर्न सकिन्छ ।
त्यतिमात्र होइन प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने कडा अडान राख्दै आएका प्रचण्ड–माधव नेपालको समूह पनि सहमतिका लागि प्रधानमन्त्री ओलीले प्रस्ताव ल्याएमा त्यसमाथि छलफल गरेर सर्वसम्म ढंगले अहिले उठेका सवालहरुलाई सम्बोधन गर्दै स्थायी कमिटी बैठकबाट निर्णय गर्न सकिने ठाँउमा पुगेका छन् ।
यसले पनि नेकपामा सकारात्मक सञ्चार गरिरहेको छ ।















प्रतिक्रिया