
काठमाडौं, २९ साउन । नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै जाँदा सभापति शेरबहादुर देउवाले पार्टीभित्र विभिन्न विभागहरु गठन गरी थुप्रै नेताहरुलाई जिम्मेवारी दिएका छन् ।
तर, उनले एकलौटी रुपमा महाधिवेशनलाई प्रभावित पार्ने गरी भएको विभाग गठन र नियुक्तिहरुलाई लिएर उनीइतरका नेता कार्यकर्ताहरु रुष्ट बनिरहेका बेला देउवाद्वारा नियुक्तहरु नै विभागमा बस्न अस्वीकार गर्न थालेका छन् ।
सभापति देउवाले एकलौटी रूपमा ४७ मध्ये ३० बढी विभाग गठन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध गर्दै आएका छन् । पौडेलले आफू पक्षीय नेता तथा कार्यकर्तालाई देउवाले बनाएका विभागमा नबस्न अपिल गरेका छन् ।
सोही अनुरूप पौडेल पक्षीय नेतारकार्यकर्ताहरूले सार्वजनिक रूपमै देउवाले बनाएका विभागमा नबस्ने बताउन थालेका हुन् । यसैबीच दैलेखका कांग्रेस नेता शिवराज जोशीले पार्टी विभागमा बस्न अस्वीकार गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले पूर्वश्रम तथा यातायात व्यवस्था राज्यमन्त्री समेत रहेका जोशीलाई साउन २५ गते राज्य प्रशासन विभाग सदस्य मनोनित गरेका थिए ।
आफू विभाग सदस्य रहेको जानकारी पाएको तीन दिनपछि जोशीले सार्वजनिक रूपमा विज्ञप्ति जारी गर्दै आफू उक्त विभागमा नबस्ने बताएका हुन् ।
विधानविपरीत सभापति देउवाले विभाग गठन गरेको र आफूलाई समेत सदस्य राखेकोमा उनले आपत्ति जनाएको स्पष्ट पारेका छन् ।
यस्तै प्युठान कांग्रेस जिल्ला कार्यसमितिका पूर्वसभापति सुभाष केसीले पनि विभागमा बस्न असहमति जनाएका छन् । उनी निर्माण व्यवसायी समन्वय विभाग सदस्य मनोनित भएका थिए ।
त्यसैगरी महिला संघ तनहुँकी उपसभापति चन्द्रकला भट्टराईले पनि विभागमा बस्न अस्वीकार गरेकी छन् ।
यसैबीच कांग्रेसका १२ जना केन्द्रीय सदस्यले साउन २७ गते संयुक्त रूपमा विज्ञप्ति निकालेर गठन भएका विभाग खारेज गर्न आग्रह गरिसकेका छन् ।















प्रतिक्रिया