बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

नेपाल बैंकद्वारा कोरोना कोषमा ३ करोड ४६ लाख प्रदान

दैनिक नेपाल २०७७ साउन २८ गते ८:२५

काठमाडौं, २८ साउन । नपाल बैंक लिमिटेडले हरेक वर्ष आफ्नो मुनाफाको १ प्रतिशत बराबरको रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको जनाएको छ ।

बैंकले विज्ञप्ति जारी गरेर उक्त कोषमा जम्मा भएको रकम नेपाल राष्ट्र बैंकले निर्देशन गरे बमोजिम विभिन्न आर्थिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक प्रकोप, शिक्षा, स्वस्थ्य, सरसफाई, वातावरण संरक्षण तथा अन्य सामुदायिक हित संरक्षण लगायतका क्षेत्रहरूमा खर्च गर्दै आएको जनाएको छ ।

देशभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम र नियन्त्रण तथा कोरोना भाइरसका कारणबाट सृजना हुन सक्ने जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि नेपाल सरकारले चालेका कदममा साथ दिन मौद्रिक नीति, २०७७–७८ मा भएको व्यवस्था तथा नेपाल राष्ट्र बैंकबाट भएको निर्देशनअनुसार बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा मौज्दात रहेको रु. ३ करोड ४६ लाख रकमको चेक नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा.युवराज खतिवडालाई सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले हस्तान्तरण गरेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा नेपाल बैंकले पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिएका छन् ।

बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले सरकारले चालेका कदमहरूमा बैंकको सदैव साथ रहने बताए । उनले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल बैंकले सवै भन्दा पहिला सहयोगको घोषण गरेको र हालसम्म संघीय सरकारको कोषमा रु. ४ करोड ४६ लाख र प्रदेश सरकारहरुलाई रु. ५ लाखका दरले रु. ३५ लाख गरी कुल रु. ४ करोड ८१ लाख आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले मौद्रिक नीति र नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंकको वित्तीय अवस्थामा थप सुधार ल्याउन बैंक व्यवस्थापन प्रतिवद्ध रहेको र यस कार्यमा नेपाल सरकारबाट निरन्तर सहयोग पाइरहने विश्वास व्यक्त गरेका छन् ।

चेक हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, नेपाल बैंक लिमिटेड सञ्चालक समितिका सदस्य, सह–सचिव केदारप्रसाद पनेरु, अर्थ मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य, नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र बैंकका कम्पनी सचिव केशवप्रसाद भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित