
काठमाडौं, २७ साउन । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित ‘लिटिल बड इङ्लिस मिडियम सेकेन्डरी स्कुल’ले शिक्षक तथा कर्मचारीहरूको कोरोना बीमा गरेको छ ।
विश्वव्यापी कोरोना भाइरस संक्रमणको महामारीबाट हुने आर्थिक जोखिम न्यूनीकरणका लागि विद्यालयले आफ्ना सबै शिक्षक/शिक्षिका तथा कार्यरत कर्मचारीहरूको बीमा गरेको बताएको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर तीव्ररूपमा वृद्धि हुँदै गएकाले सम्भावित जोखिमलाई दृष्टिगत गर्दै स्कुलले अजोड इन्स्योरेन्स कम्पनीमार्फत ३१ जना शिक्षक/शिक्षिका तथा कर्मचारीको प्रतिव्यक्ति १ लाख रूपैयाँ बीमांक बराबरकोे बीमा गरेको हो ।
लकडाउन शुरू भएदेखि नै अनलाइन कक्षा सञ्चालन गरी आफ्ना विद्यार्थीलाई अध्यापन गराउँदै आएका शिक्षक/शिक्षिका तथा विद्यालयको नियमत काममा खटिँदै आएका कर्मचारीको आत्मबल वृद्धि गर्न स्कुलले कोरोना बीमा गरेको बताएको छ । कोरोनाको त्राससँगै आम मानिसमा बढेको आर्थिक अभावको चिन्तालाई केही हदसम्म न्यूनीकरण गर्न पनि उनीहरूको कोरोना बीमा गरिएको स्कुलले जानकारी दिएको छ ।
बीमित व्यक्तिलाई पीसीआर प्रविधिबाट गरिने परीक्षणमा कोरोना पुष्टि भएलगत्तै बिमक कम्पनीले बीमांक बराबरको रकम उपलब्ध गराउनु पर्ने व्यवस्था छ । नियामक निकाय बीमा समितिको नयाँ निर्देशिका अनुसार बीमा अवधि आगामी चैत मसान्तसम्म कायम रहने छ ।
सरकारको विशेष पहलमा बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र सरकारबीच बीमालेखको दायित्व बाँडफाँड गरी यो योजना शुरू गरिएको हो ।















प्रतिक्रिया