
काठमाडौं, २६ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाभित्रको विवाद मिलाउन सिधा र खुलमखुला छलफलको आवश्यक रहेको बताएका छन् ।
एउटै कुरालाई फरक समय र फरक ठाउँमा फरक–फरक तरीकाले प्रस्तुत गरिँदा समाधानको सट्टा समस्या चुलिएर गएको उनको भनाइ छ । सोमबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले भनेका छन्, ‘हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा, अर्को ठाँउमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो । त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन बरु जटिल बनाउँछ ।’
उनले अगाडि लेखेका छन्, ‘त्यसैले पार्टी, वर्ग, आन्दोलन, देश र जनतालाई केन्द्रविन्दुमा राखी सिधा, खुला र स्प्ष्टरुपमा छलफल गरौँ र सकारात्मक निकास निकालौं । पार्टी एकताको रक्षा गरौं, समाजवादउन्मुख सामाजिक–आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढौं ।’
प्रवक्ता श्रेष्ठले कम्युनिष्ट पार्टीको उद्देश्य समाजमा आजसम्मको सर्वोत्तम लोकतन्त्रको अभ्यास गर्नु, गराउनु भएकाले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त भएको बताएका छन् ।
‘नेकपाभित्र अन्तरपार्टी जनवाद, छलफल, बहस र अन्तरसंघर्षलाई पार्टीको जीवन र चालक शक्ति भनिन्छ’, उनले लेखेका छन्, ‘अन्तरसंघर्षलाई स्वस्थ र रुपान्तरणमुखी ढंगले सञ्चालन गर्नाले विचारको परिमार्जन एवं विकास, संगठनको व्यवस्थापन, परिचालन एवं सुदृढीकरण र सामाजिक रुपान्तरणको क्रान्तिकारी उदेश्यमा योगदान पुर्याउँछ । अन्तरसंघर्षलाई सार्थक निष्कर्षमा पुर्याउन वैचारिक, सैद्धान्तिक, राजनीतिक, प्रवृत्तिगत र मुद्दागतरुपमा सिधा, खुला र स्पष्ट छलफल गर्ने कार्यशैली अख्तियार गर्नुपर्छ ।’















प्रतिक्रिया