शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

भिम अस्पतालमा चिकित्सकहरुको मनोमानी, अस्पतालमै भाडाको सटरमा निजी क्लिनिकमा व्यस्त

प्रतिक पौडेल २०७७ साउन २५ गते १५:०३

-प्रतिक पौडेल

भैरहवा, २५ साउन । मानिसको ज्यान बचाउने पेसा अँगालेका चिकित्सकको धर्म नै बिरामीको सेवा हो ।

आर्थिक अभावमा पिल्सिएका, गरिब, दिन–दुःखीको उपचार गरेर सेवा गर्नु सरकारी चिकित्सकको कर्तव्य पनि हो । तर यी सबै सन्दर्भहरु अचेल आदर्शमा मात्र सिमित हुन थालेका छन् । यसको ताजा उदाहरण रुपन्देहीको जिल्ला अस्पताल भिम अस्पतालमा हेरे हुन्छ ।

उपचारका लागि दैनिक सयौ बिरामी आउने अस्पतालमा चिकित्सक भने हुँदैनन् । अस्पताल छ, चिकित्सकको दरबन्दी छ, छात्रवृत्ति करारमा चिकित्सक छन् तर बिरामीले चिकित्सक फेला पार्न सक्दैनन् ।

प्रायः अन्तरंग (ओपिडी) कक्ष बिरामीहरुले भरिभराउ हुन्छ । तर कुनै पनि विशेषज्ञ चिकित्सकहरुको अत्तोपत्तो हुँदैन । नियमत अस्पतालमा ९ बजे हाजिर भैसक्नु पर्ने हुन्छ तर ११ बज्दा पनि चिकित्सकहरु अस्पतालमा हाजिर हुदैनन् ।

चिकित्सकहरु शैलेजा घिमिरे, भुवन प्रसाद ओझा, आरिफ हुसेन, सुमित प्रजापती र बादल शाही लगायतको ड्युटी रहे पनि कोही समयमै उपस्थित हुदैनन् ।

बिहान ९ बजेदेखि पुर्जी कटाएर लाईन लागेका बिरामीहरु ११ बजेसम्म चिकित्सकको पखाईमा हुन्छन् । तर समयमै चिकित्सक नआउँदा कतिपय बिरामी फर्किएर निजी क्लिनिकमा जान बाध्य हुन्छन् भने कतिपय बिरामी चिकित्सक कुरेर बसिरहन बाध्य हुन्छन् ।

आश्चर्यचकित कुरा त अस्पतालमा जुन बिरामी चिकित्सक कुर्दा थाकेर बाहिर क्लिनिकमा जान बाध्य हुन्छन्, बाहिर भने भिम अस्पतालमै कार्यरत चिकित्सकहरुले सेवा दिइरहेका हुन्छन् ।

यसको एउटा उदाहरण ओमसतिया २ निवासी मिना पौडेल चेकजाँचको लागि भिम अस्पताल पुग्छिन् । त्यहा कार्यरत स्थायी चिकित्सक स्त्री तथा प्रसुती रोग विशेषज्ञ शैलेजा घिमिरेबाट जस्तो हिसावले सुझाव सल्लाह पाउनुपर्ने हो त्यहा पाउदिनन् ।

पौडेल त्यसपछि केही साथीहरुको सल्लाहमा भिम अस्पताल परिसर बाहिर एक क्लिनिक आरम्भ मेडिकल हलमा राम्रो चिकित्सक भएको सल्लाह पाएपछि त्यहाँ पुग्छिन ।

आरम्भमा पुगेपछि त्यहा त भिम अस्पतालमै केही समय अघि उपचार गराएको चिकित्सक शैलेजा घिमिरे नै रहेको कुरा पौडेलले बताइन् ।

पौडेलका अनुसार भिममा जस्तो सुझाव सल्लाह दिनुपर्ने हो त्यो भन्दा धेरै राम्रो सुझाव सल्लाह घिमिरेले आरम्भमा दिइन् । पौडेलले प्रश्न गरिन् एउटै चिकित्सकले दिने सेवा सरकारीमा र निजी क्लिनिकमा किन फरक ?

स्वास्थ सेवा नियमावली २०५५ परिच्छेद १६ को ११२ बमोजिम स्थायी चिकित्सकहरुले निजी प्राक्टिस गर्न मन्त्रालयबाट स्वीकृति लिनुपर्ने हुन्छ ।

मन्त्रालयले अहिले सरकारी अस्पतालको सेवामा अशर पर्ने हुनाले यस्ता खालका स्वीकृति दिन छोडेको छ । घिमिरेले भिम अस्पतालमा कार्यरत भएपनि पहिले देखिनै निजी क्लिनिकमा काम गर्दै आएकी छन् ।

घिमिरे भिम अस्पतालको तिन दरवन्दी मध्य एक मात्र अस्पतालमा उपस्थित ८ औ तहको स्थायी चिकित्सक हुन् । अन्य दुई दरबन्दी मध्य एक जना काज सरुवा भएर रोल्पामा रहेका छन् भने एउटा दरवन्दी पुर्ती भएको छैन ।

अस्पतालमा स्थायी दरवन्दी धेरै नभए पनि करारमा भने चिकित्सक रहेका छन् । अस्पतालमा रहेका करार चिकित्सकहरु पनि अस्पतालमा भन्दा बाहिर निजी क्लिनिकमै ब्यस्त हुने गरेका छन् ।

बाहिर पनि धेरै टाढा होइन अस्पतालकै गेट बाहिर अस्पताल ब्यवस्थापनले भाडामा दिएको सटरहरुमा खोलिएका निजी क्लिनिकहरुमा । करारमा रहेका चिकित्सक भुवन प्रसाद ओझा अस्पतालको मुख्य गेटमै रहेको निजी क्लिनिक बिराट मेडिकल हलमा हाजिर हुने गर्छन् ।

अर्का चिकित्सक आरिफ हुसेन करार अवधी सकिएको १ महिना हुदा समेत अस्पतालले नआउन भन्दा भन्दै पनि अस्पताल आएर बिरामीहरुलाई बाहिर क्लिनिमा आउन भन्ने गरेको जानकारी अस्तालकै एकजना कर्मचारीले नाम नखोल्ने शर्तमा बताए । हुसेन अस्पताल बाहिर रहेको अर्घा मेडिकल हलमा हाजिर हुने गरेका छन् ।

करारमा कार्यरत चिकित्सक मध्य सवैभन्दा माथिल्लो तहका रहेका सुमित प्रजापती स्रोतका अनुसार भैरहवामै २ देखी ३ वटा क्लिनिकमा काम समय दिने गरेका छन् ।

कानुनत सरकारी अस्पतालमा कार्यरत करार चिकित्सकले कुनै पनि निजी क्लिनिकमा काम गर्न मिल्दैन । सरकारी शिक्षण संस्थाहरुमा चिकित्सशास्त्र छात्रबृत्ति छनौट तथा छात्रबृत्ति प्राप्त बिशेषज्ञ चिकित्सक परिचालन कार्यविधी २०७२ को परिच्छेद ४ को बिशेषज्ञ चिकित्सकहरुको कार्य विवरण र अधिकार सम्बन्धी व्यवस्था अनुसार बिशेषज्ञ चिकित्सकको काम, कर्तव्य र अधिकारमा सेवा अवधीभर विशेषज्ञ चिकित्सकले निजीरुपमा चिकित्सीय सेवा प्रदान गर्न नहुने भनिएको छ । तर भिम अस्पतालका स्थायी र करार चिकित्सकहरु भने अस्पताल परिसर बाहिरनै आफ्नो निजी क्लिनिक चलाउदै आएका छन् ।

भिम अस्पतालमा डाक्टर फेला पार्नु भनेको मन्दिरमा भगवान फेला पार्नुजस्तै भएको सेवाग्राही बताउँछन् ।

चेकजाँचका लागि आएकी सियारी गाउपालिका वडा नं ५ निवासी सुष्मा पाठकले भनिन्, ‘सरकारी काम, कसरी जाला घाम भन्ने उखान भैरहवा भिम अस्पतालमा लागू भएको छ ।’ उनले भनिन्, ‘९ बजेदेखि नै बिरामीको लाइन छ, तर अस्पतालमा कतै डाक्टर फेला पर्दैनन्, बिरामी आउँछन्, भएका नर्सले उनीहरुलाई हेरे भने हेरे, नत्र उनीहरु निजी अस्पताल अथवा क्लिनिक नै जान बाध्य हुन्छन् ।’

भिम अस्पतालका मेसु नविन दर्नालका अनुसार नियम अनुसार चिकित्सकहरु बिहान ९ बजे देखि ५ बजे सम्म ड्युटीमा रहनुपर्ने हुन्छ । दिउसो १ देखी २ बजे ब्रेक हुन्छ त्यो ब्रेकको समय साझ राउन्ड गरेर पुर्ती गर्नुपर्ने हुन्छ दर्नालले भने ।

तर नाम नखोल्ने शर्तमा अस्पतालका एक कर्मचारीले भने ९ बजे आउनुपर्ने चिकित्सक ११ बजे पछि आउछन् १ बजे सम्म बस्छन् अनी फेरी २ बजे आएर ३ बजे गइहाल्छन् साझ राउन्ड गर्न पनि आउदैनन् ।

यस्तै टिकट काउन्टरकी एक कर्मचारीले भनिन् चिकित्सक समयमै उपस्थित नभएकै कारण उपचार गर्न आएका सेवाग्राहीको कति कुरा हामीले सुन्नुपर्छ, कतीले त टिकटनै हाम्रो मुखमा समेत फालेर जाने गर्छन् ।

मेसु दर्नाले अस्पतालमा पटक पकट चिकित्सकहरुलाई समममा आएर नियम अनुसार काम गर्न भनेता पनि अटेर गर्ने गरेका छन् ।

        

प्रतिक्रिया
सम्बन्धित