
सिन्धुली, २४ साउन । बन्दाबन्दीको समयमा पनि सुनकोशी गाउँपालिका वडा नं ६ अमारेमा तुरतुरे खानेपानी आयोजना तथा न्यौपानेटारमा निगौली ओडारे खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएका छन् ।
ती खानेपानी आयोजनामार्फत् अमारे र न्यौपानेटारका घर हरुमा ५९ धारा निर्माण भई चारसय तेइस जना लाभान्वित भएका छन् ।
अमारेका ३९ घरमा धारा निर्माण भई १४५ पुरुष १३६ महिला गरि जम्मा २८१ जना र न्यौपानेटारका २० घरमा धारा निर्माण पश्चात ७२ पुरुष र ७० महिला गरि जम्मा १४२ जना प्रत्यक्षरुपमा सुरक्षित खानेपानीबाट लाभान्वित भएका हुन् ।
नेपाल रेडक्रसको आव्हानमा स्थानीय सुनकोशी गाउँपालिका र स्थानीय बासिन्दाको सहयोग र सहभागितमा यो सफलता भएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताए ।
उनले भने, रेडक्रसको ७० प्रतिशत र स्थानीय पालिका तथा बासिन्दाहरुको ३० प्रतिशत रकम लगानी भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ र सुनकोशी गाउँपालिका सिन्धुलीको आर्थिक साझेदारीमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको पहलमा निर्माण कार्य सम्पन्न भएको हो ।
तुरतुरे खानेपानी आयोजना निर्माण गर्न रेडक्रसको २१ लाख ६० हजार ८९३ रुपैयाँ, सुनकोशी गाउँपालिकाको ७ लाख ९५ हजार ५०८ रुपैयाँ र समुदायको १ लाख २० हजार ४६८ रुपैयाँ गरि कुल रकम ३० लाख ७६ हजार ८७० रुपैयाँ खर्च भएको नेपाल रेडक्रस सोसाइटी सिनधुली जिल्ला शाखाका बास अधिकृत जयनारायण चौधरीले जानकारी दिए ।
त्यसैगरि निगौली ओडारे खानेपानी आयोजनामा रेडक्रसको रकम १५ लाख ३५ हजार ५४० रुपैयाँ, सुनकोशी गाउँपालिकाको ४ लाख ७७ हजार ८०८ रुपैयाँ र समुदायको ८१ हजार १७७ रुपैयाँ गरि कुल रकम २० लाख ९४ हजार ५२७ रुपैयाँको लागतमा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो ।

सुनकोशी गाउँपालिकामा ६ वटा यस्ता खानेपानी आयोजना सुरुभएकोे र ती सबै योजनाको लागि गाउँपालिकाले सहयोग गरेकोमा धन्यवाद दिदै नेरेसो सिन्धुलीका सभापति अशोक श्रेष्ठले तेस्रो योजना एकहप्ता भित्र सम्मन्न गरिने र बाँकी ३ वटा आगामी २ महिनामा सम्पन्न हुने जानकारी दिए ।
उनले भने, लकडाउन नभएको भए सबै योजना अहिलेसम्म पूरा भैसकेका हुनेथिए । सुख्खा क्षेत्रमा खानेपानी पुर्याउन सहयोग गर्न पाएकोमा हामी खुशी छौँ ।















प्रतिक्रिया