शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रधानमन्त्री ओलीले टेलिफोन गरेर राजपाक्षे दाजुभाइलाई दिए बधाई

दैनिक नेपाल २०७७ साउन २३ गते १४:२२

काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई टेलिफोन गरेर बधाइ दिएका छन् ।

हालै सम्पन्न त्यहाँको आम निर्वाचनमा राजपाक्षेद्वयको पार्टी श्रीलंका पिपुल्स पार्टी एक्लैले २२५ मध्ये १४५ सिट जितेर बहुमत हासिल गरेपछि ओलीले बधाइ दिएका हुन् ।

केहीबेरअघि ट्विट गर्दै प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी महिन्दा राजपाक्षेलाई टेलिफोन गरी बधाइ दिएको बताएका हुन् । नेपाल, नेपाली जनता र आफ्नो पार्टीको तर्फबाट उनलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएको उल्लेख गरेका छन् ।

जवाफमा श्रीलंकाका प्रधानमन्त्री राजपाक्षेले शुभकामना तथा बधाई सन्देशका लागि धन्यवाद त्रापन गरेका छन् ।

नेपाल र श्रीलंकाबीचको मैत्री सम्बन्धको कदर गर्दै आवश्यक पर्दा श्रीलंका सधैं नेपाली जनताको साथमा रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

त्यहाँको निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको आम निर्वाचाको अन्तिम मत परिणामअनुसार राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलंका पिपुल्स पार्टी एक्लैले २२५ मध्ये १४५ सिट जितेको छ ।

उनीहरूको गठबन्धनमा रहेका दलले थप ५ सिट पनि जितेका छन् । कोरोना भाइरसको महामारीबीच दक्षिण एशियामै पहिलोपटक सम्पन्न भएकाने आम निर्वाचनमा ७१ प्रतिशत मतदान भएको बताइएको छ ।

गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा महिन्दा राजापाक्षेका भाइ गोटवायाले विजय हात पारेका थिए । राष्ट्रपति बनेपछि गोटवायाले पूर्वराष्ट्रपति रहेका दाजु महिन्दालाई प्रधानमन्त्री बनाएका थिए ।

संसदमा दुईतिहाइ ल्याएर संविधान संशोधन गर्ने भन्दै गोटवायाले अवधि सकिनु ६ महीनाअघि नै संसदीय चुनाव घोषणा गरेका थिए । तर, कोरोना भाइरसका कारण चुनाव दुई पटक सरेको थियो ।

श्रीलंकाको राजनीतिमा दुई दशकदेखि राजापाक्षे परिवारको एकछत्र जस्तै छ ।

प्रतिक्रिया
सम्बन्धित