रौतहट । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’का रूपमा प्रस्तुत गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
अनलाइनमार्फत आपत्तिजनक सामग्री सार्वजनिक गरी समाजमा डर र त्रास फैलाएको आरोपमा रौतहट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा राजदेवी नगरपालिका–१ निवासी २२ वर्षीय श्यामकुमार महतो रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनलाई असोज २८ गते राति करिब ९ बजे गौर नगरपालिका–४ बाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार महतोले टिकटकमा धारिलो हतियार बोकेका तस्वीर तथा भिडियो पोस्ट गर्दै ‘किङ अफ रौतहट’, ‘रौतहट किङ अलवेयज अन टप’ र ‘सिस्टम भाइ’ जस्ता अभिव्यक्ति सार्वजनिक गर्ने गरेका थिए । उनका यस्ता गतिविधिले सामाजिक सद्भावमा असर पार्नसक्ने तथा शान्ति सुरक्षामा चुनौती उत्पन्न हुनसक्ने आकलनपछि प्रहरीले निगरानी बढाएको थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएका सामग्रीको निगरानी तथा अनुसन्धानका क्रममा महतोको पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीको क्रिमिनल रेकर्ड सिस्टममा गरिएको जाँचका क्रममा महतोको नाममा विभिन्न मितिमा चोरी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योग लगायतका पाँचवटा मुद्दा चलेको देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्ने र उच्छृङ्खल अभिव्यक्ति दिने गतिविधिमाथि प्रहरीले निगरानी बढाइरहेको जनाएको छ ।
पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।















प्रतिक्रिया