
काठमाडौँ, २१ साउन । पर्साको वीरगञ्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्साको वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ वर्षीय पुरुष र पोखरिया नगरपालिका–८ घर भएकी १८ बर्षकी युवतीको मृत्यु भएको हो ।
यससँगै पर्सामा १४ जनाको मृत्यु भएको छ जसमध्ये १२ जना पर्सा जिल्लाकै हुन् ।
नारायणी अस्पतालका अनुसार मधुमेहका बिरामी ४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनले साउन १८ गते पेड पीसीआर गराएका थिए । साउन १९ गते उनको रिपोर्ट पोजेटिभ आएको हो ।
साउन २० गते अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका लागि राति साढे १० बजे भर्ना गरिएको थियो ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार उनमा खोकी र ज्वरोको समस्या थियो । अक्सिजन दिँदासमेत उनको शरीरमा अक्सिजन मेन्टेन भईरहेको थिएन ।
मुटुले काम गर्न छोडेपछि बिहान उनको निधन भयो । वीरगञ्ज हेल्थ केयरमा मृगौलाको डायलायसिस गराउँदै आएका ४ जनालाई आइसीयुमा राखेर उपचार भइरहेको छ ।
यसअघि पर्सामा साउन १९ गते सोमबार मृत्यु भएको युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो ।















प्रतिक्रिया