शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बामदेव निवास भैंसेपाटी पुगे अध्यक्ष प्रचण्ड

दैनिक नेपाल २०७७ साउन २० गते ११:४३

काठमाडौं, २० साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बामदेव गौतमलाई भेट्न उनकै निवास भैंसेपाटी पुगेका छन् ।

६बुँदे मध्यमार्गी प्रस्ताव अगाडि सारेर केपी ओली लाइनमा प्रवेश गरेको संकेत गरेका गौतमलाई फकाउन प्रचण्ड निवासमै पुगेका हुन् ।

आज साँझ ५ बजे अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच छलफलको कार्यक्रम तय भइसकेको छ ।

गौतमले मध्यमार्गी प्रस्ताव अगाडि सारेलगत्तै यसअघि अध्यक्ष एवं प्रधानमनत्री केपी शर्मा ओलीले पनि उनलाई निवासमै पुगेर भेटघाट गरेका थिए ।

ओली र दाहालले गौतमलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ भने आज साँझ हुने भनिएको छलफलले केही निष्कर्ष निकाल्ने अपेक्षा समेत गर्न थालिएको छ ।

गौतमले आफ्नो प्रस्तावमा प्रतिनिधिसभाको यो कार्यकालभर प्रधानमन्त्रीको जिम्मेवारीमा केपी ओली नै रहनु पर्ने प्रस्ताव गरेका छन् । यस्तै आगामी महाधिवेशनसम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहनुपर्ने उनको प्रस्ताव छ ।

यस्तै उनले पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने र आगामी दिनदेखि पार्टीको सम्पूर्ण बैठकहरू पार्टी कार्यालयमै आयोजना गर्नु पर्ने प्रस्ताव राखेका छन् ।

त्यसैगरी मन्त्रीपरिषद् पुनर्गठन, संवैधानिक निकायमा नियुक्ति र संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुअघि पार्टी सचिवालयको परामर्श लिनुपर्ने उनको भनाइ छ ।

सरकार सञ्चालनका क्रममा पार्टीले हस्तक्षेप नगर्ने तर पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शलाई ध्यान दिइनुपर्ने पनि नेता बामदेवको प्रस्ताव छ ।

यस्तै प्रशासन तथा सुरक्षा निकायमा पदोन्नति र सरुवाका लागि निश्चित मापदण्ड तय गर्नु पर्ने बामदेवको सुझाव छ ।

प्रतिक्रिया
सम्बन्धित