सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

नेकपाको सचिवालय र स्थायी कमिटी अझै अनिश्चित, शीर्ष नेताहरुबीच आज पनि छलफल हुँदै

दैनिक नेपाल २०७७ साउन २० गते ११:०२

काठमाडौं, २० साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच समहति नजुट्दा पार्टीको सचिवालय र स्थायी कमिटी बैठक अझै अनिश्चत छ ।

पार्टीभित्र देखिएको विवादकै कारण स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ भने सचिवालयको बैठक पनि अवरुद्ध भएको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति नजुट्दा पार्टी र सरकारको कामकारबाही समेत प्रभावित बन्न थालेको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने चर्को आवाज उठेपछि पार्टीभित्र विवाद चर्किएको छ ।

पछिल्लो समय सचिवालयमा बलियो देखिएका ओलीले सचिवालय बैठक पहिला र स्थायी कमिटीमा बलियो देखिएका प्रचण्डले स्थायी कमिटीको बैठक पहिला भन्ने अडानका कारण सहमति जुट्न नसकेको बताइएको छ ।

यिनै समस्या समाधानका लागि दुई अध्यक्षबीच दुई दिनयता निरन्तर छलफल भइरहेको छ । छलफल सकारात्मक भएको बताइए पनि ठोस निर्णयहरु भने केही पनि भएको छैन ।

छलफलकै निरन्तरका लागि आज मंगलबार पनि नेताहरु भेटवार्ता तथा छलफल हुने भएको छ । आज प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता हुने तयारी छ ।

नेताहरुबीच आज साँझ ५ बजे भेटवार्ता गर्ने तय भएको नेकपा स्रोतले जानकारी दिएको छ ।

यसअघि आइतबार र सोमबार पनि चारै जना नेताबीच छलफल भएको थियो । दुवै दिनको वार्ता सकारात्मक रुपमा अघि बढेको नेताहरुले बताएका छन् ।

सोमबारको बैठकमा अध्यक्ष प्रचण्ड तथा नेता खनालले पार्टी विवाद स्थायी कमिटी बैठकबाट टुंगो लगाउनुपर्ने बताएका थिए । तर, ओलीले पहिला सचिवालयले टुंगो लगाउनुपर्ने बताउँदै त्यसपछि स्थायी कमिटीमा लैजानुपर्ने धारणा राखेका थिए ।

नेकपाको विवादकै कारण गत असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित