शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

चितवनमा भेटियो गाईमा नयाँ संक्रामक भाइरस

दैनिक नेपाल २०७७ साउन १७ गते १९:२७

फाइल तस्वीर

चितवन, १७ साउन । चितवनका गाईमा नयाँ किसिमको संक्रामक रोग देखिएको छ ।

पहिचान हुन नसकेको उक्त रोगले अहिले पूर्वी चितवनका गाई थलिन थालेका छन् ।

दुई दर्जन गाईमा यस्तो संक्रमण भेटिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र (चितवन) ले जानकारी दिएको छ । गाईमा नयाँ किसिमको संक्रामक रोगको प्रकोप बढ्दै गएको किसान तथा पशुरोग चिकित्सकले बताएका छन् ।

लम्पी स्किन डिजिज (बिमिरा आई छाला उप्किने) जस्तै रोग देखापरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र (चितवन) का प्रमुख डा. दयाराम चापागाईंले जानकारी दिए ।

सुरुआतमा राप्ती नगरपालिकामा देखिएको रोग क्रमशः अन्य क्षेत्रमा पनि फैलँदै गएको उनले बताए। अहिले खैरहनी र रत्ननगर नगरपालिकाका किसानले पालेका गाईमा पनि यो रोग देखिएको छ । यो भाइरसबाट लाग्ने रोग हो । रोग लागेपछि गाईले दूध दिन छाड्ने वा कम दिने गरेको चापागाईंले बताए ।

उनले भने, ‘असारको अन्तिम सातादेखि यो रोग देखापरेको हो, स्थानीय तहका प्राविधिक सहितको टोलीले किसानको घरदैलोमा पुगेर रोग नियन्त्रण र रोकथामका उपायबारे छलफल र सल्लाहा प्रदान गरेका छौं।’

कार्यालयले रोगबाट संक्रमित घरधुरी र गाईको संख्यासहित पशु सेवा विभाग र प्रदेश मन्त्रालय तथा प्रदेश निर्देशनालयमा पत्र पठाइसकेको उनले जानकारी दिए । कृषि मन्त्रालयसमक्ष आवश्यक औषधिको मागसमेत गरिएको उनले बताए ।

प्रदेश निर्देशनालयले औषधि खरिद गर्न लागेकाले एक/दुई दिनमै औषधि आपूर्ति हुने कार्यालयले जनाएको छ । केही स्थानीय तहले पोटासलगायत रोग नियन्त्रणका लागि औषधि वितरण गरेका छन् ।

चापागाईंका अनुसार यो नेपालका लागि नयाँ रोग हो । यसको परीक्षण र उपचार विधि नेपालमा छैन । सुरुमा राप्ती नगरपालिका–८ बडराकी किसान हरिमाया अर्यालले पालेको गाईमा समस्या देखिएको थियो । ‘गाईको शरीरभरि घाउ आएको छ,’ उनले भनिन्, ‘राम्रो जातको गाई थियो, अहिले हड्डी र छालामात्र देखिन्छ ।’

कातिमा ब्याएको गाईले दैनिक १४(१५ लिटर दूध घटाएर तीनदेखि चार लिटर मात्र दिन थालेको उनले बताइन् । उनका अनुसार गाईलाई उठ्न र बस्नसमेत समस्या भएको छ । प्राविधिकले हेरेर सुरुमा केही औषधि खुवाए पनि रोगको निदान नभएको उनले बताइन् ।

सुरुमा आफ्नो गाईमा समस्या देखिए पनि अहिले अन्य किसानको गाईमा पनि यस्तै रोग देखिएको अर्यालले बताइन् ।

यो रोग लाग्ने गाईमा सुरुमा ज्वरो आउने, खाना नखाने, शरीरमा फोका बिमिरा उठ्ने, रगत आउने, मासुको टुक्रासमेत देखापर्ने लगायतका लक्षण देखिने गरेका छन् । लक्षणका आधारमा उपचार भइरहेको प्राविधिकले जनाएका छन् ।

पोटासले जिउ धुने, घाउ भएको ठाउँमा बेटालिन दल्ने, मलम लगाउने, गोठ वरपर कीटनाशक औषधि छर्ने र बिरामी गाईलाई अलग्गै राख्न किसानलाई सुझाव दिएको राप्ती नगरपालिकाका पशु शाखाप्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिए ।

नगरका अधिकतर किसानका गाईको नमुना संकलन गरिएको छ । यो रोग धेरै क्षेत्रमा बढ्न सक्ने भन्दै सचेत रहन किसानलाई आग्रह गरिएको उनले बताए । चितवन दुग्ध उत्पादनका लागि अग्रणी जिल्ला मानिन्छ । –रासस

प्रतिक्रिया
सम्बन्धित