शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बारा जिल्लाको यी स्थानमा आइतबारदेखि अनिश्चितकालका लागि निषेधाज्ञा

दैनिक नेपाल २०७७ साउन १७ गते १५:५२

काठमाडौँ, १७ साउन । बारा जिल्लाका अधिकांश स्थानमा निषेधाज्ञा जारी गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाको अधिकांश ठाउँमा आइतबार विहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने भएको हो ।

छिमेकी पर्सा जिल्ला र बाराकै विभिन्न स्थानमा कोरोनाभाइरस संक्रमण बढेपछि निषेधाज्ञा जारी गर्न लागिएको प्रशासनले जनाएको छ ।

वीरगन्जदेखि पथलैयासम्मको औद्योगिक क्षेत्र, पथलैयादेखि निजगढसम्मको पूर्व–पश्चिम राजमार्ग, वीरगन्जदेखि रौतहटको सिमानासम्म जोडिने हुलाकी मार्ग छेउछाउका स्थानीय तहहरुलगायत कलैया र जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।

यस्तै सिम्रौनगढ, कोल्हवी र महागढीमाई नगरपालिकाभित्र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ र संक्रामक रोग नियन्त्रण २०२० को दफा २ बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।

‘जिल्ला र छिमेकी जिल्लामा दैनिक संक्रमितहरु भेटिन थालेपछि संक्रमण नियन्त्रणका लागि निश्चित ठाउँहरुमा निषेधाज्ञा जारी गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, ‘खाद्यान्न र औषधि उपचार, औषधि तथा खाद्यन्न पसलबाहेक सबै बन्द रहने छ ।’

अत्यावश्यकबाहेकका सबै सवारी बन्द रहेनछन् । यसैगरी हाटबजार तथा नेपाल–भारत आउजाउ बन्द रहनेछ । निषेधित क्षेत्रमा भोजभतेर, धार्मिक, साँस्कृतिक, सामाजिक क्रियाकलाप र विवाह व्रतबन्धमा रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी पण्डितका अनुसार उद्योगहरुमा कोरोना संक्रमित भेटिएकाले जगदम्बा इन्टरप्राइजेज र मारुती फर्मास्युटिकल उद्योग सिल गरिएको छ । त्यस्तै, स्वास्थ्य सुरक्षा नअपनाउने उद्योगहरुलाई सिल गरिने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित