शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

शहिद भीमदत्त पन्तको ६८ औँ स्मृति दिवस

दैनिक नेपाल २०७७ साउन १७ गते १५:१३

डडेल्धुरा, १७ साउन । शहिद भीमदत्त पन्तको ६८ औँ स्मृति दिवसको अवसरमा अमरगढी नगरपालिका ५ बागबजारमा रहेको शहिद पन्तको शालिकमा माल्यार्पण गरिएको छ ।

किसान नेताका रुपमा निकै चिर्चित शहिद पन्तको वि.स. २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो । सोही सम्झनामा डडेल्धुरामा शहिद भीमदत्त पन्तको सम्झनामा स्मृति दिवस मनाउदै आएको छ ।

कि त जोत हलो, कि त छोड थलो, होईन भने अब छैन भलो भन्दै सशक्त रुपमा किसानको हितमा आवाज उठाएका शहिद पन्तले त्यति बेलाका गरीब सर्वसाधारणले नुन समेत खान नपाएको देखेर आन्दोलन गरेका थिए ।

सुदुरपश्चिममा नुनको अभाव हुँदा उनले भारतको सिमा ब्रहमदेबमा रहेको नुनको डिपो कब्जागरी त्यहाँबाट गरिब जनतालाई नुन बाँडेका थिए ।

शहिद भीमदत्त पन्तको स्मृतिमा डडेल्धुरामा केही वर्ष यता भीमदत्त स्मृति प्रतिष्ठानले स्मृति दिवस मनाउदै आएको छ । स्मृति प्रतिष्ठानको आयोजनामा शनिबार बागबजारमा रहेको भीमदत्त शालिकमा विहान माल्यार्पण कार्यक्रमको आयोजना गरिएको थियो दिउँसो भिमदत्त पन्तको स्मृतिमा अन्र्तक्रिया कार्यक्रम र बेलुका शालिकमा दिप प्रज्वलन कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष उमेश भट्ट विकासले बताए ।

उनले भने भीम दत्त पन्त किसान नेता मात्रै नभएर उनी विकास वादी नेताका रुपमा रहेका छ । किसान आन्दोलनमात्रै नभएर उनले श्रमशोषण विरुद्ध र गरिव जनताका पक्षमा आवाज उठाउनु भएको कुरालाई कसैले बिर्सनु हुँदैन ।

समाज परिवर्तनको एक मात्र उद्धेश्य बोकेका शहिद पन्तको काम तत्कालिन सामान्त ठालुहरुलाई चित्त बुझ्ने कुरा थिएन शहिद पन्तले सामन्तीहरुले बनाएका जाली तमसुकहरु च्याति गरिब किसानहरुलाई न्याय दिलाएको काम सामन्तहरुका लागि असह्य भयो र शहिद पन्त सामन्तहरुको निसाना बन्दै गएको अमरगढी नगरपालिका प्रमुख विशेश्वर प्रसाद ओझाले बताए ।

उनले भने शहिद भीमदत्त पन्तको महिमालाई जोगाई राख्नका लागि अमरगढी नगरपालिकाले पन्त जन्मेको कारीगाउलाई भीमदत्त आर्दश बस्ती निर्माण गर्दै गरेको छ ।

अमरगढी नगरपालिकाले भीमदत्त आर्दश बस्ति निर्माणका लागि करिब ७२ लाख रकम विनियोजन गरेको र यस वर्ष निर्माण कार्य अगाढी बढ्नेछ ।

शहिद भीमदत्त पन्तको ६८ औँ स्मृति दिवस मनाई रहदाँ शहिद परिवारले राज्यबाट कुनै सहयोग नपाएको शहिद भीमदत्त पन्तका भाई यद्धु नाथ पन्तले बताए । गरिब किसानका लागि संर्घष गर्दै गर्दा सामान्तहरुबाट घाटी काटिएको व्यक्तिलाई राज्यले ७० वर्ष पछि शहिद घोषणा गरेको गुनासो गरे ।

वि.स. २०७२ फागुन १९ गते तत्कालिन नेकपा एमाले अध्यक्ष एव हाल नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहदाँ भीमदत्त पन्तलाई शहिद घोषणा गरिएको थियो ।

डडेल्धुराको जोगबुढाको बिर्खमको जंगलमा लुकेको खबर उनकै साथीहरुले खबर गरेको बताईन्छ । शहिद पन्तकै मित लाल बहादुर थापाको सहयोगमा सामान्तीहरुले गोली हानी मारेका थिए ।

पन्तलाई मार्नकै लागि भारतबाट समेत सैनिक बोलाईएको थियो । सहिद पन्तको टाउको काटी श्रावण १८ गते डडेल्धुराको जिल्ला सदरमुकाम चोकमा टाउको झुण्ड्याईएको थियो ।

नेपाली किसान आन्दोलनका महान शहिद भीमदत्त पन्त डडेल्धुरको अमरगढी नगरपालिका २ कारीगाउँमा वि.स. १९८३ मंसिर १९ गते जन्मेका पन्त आमा सरस्वति पन्त र बुवा तारानाथ पन्तको कोखबाट जन्मेका थिए ।

प्रतिक्रिया
सम्बन्धित